समाज

बाढीले बगाएका किशोर मृत फेला

उदयपुर– अघिल्लो राति अचानक बाढी पसेर बगाई बेपत्ता भएका मुर्कुची बजारका किशोरको शव फेला परेको छ।

सोमबार राति ९ बजे स्थानीय छौड्याहा खोलापहिरोले थुनिएर बजार पसेको बाढीले बगाउँदा बेपत्ता रौतामाई–७, मुर्कुचीका अर्जुन तामाङका १४ वर्षीय छोरा आर्यन पाँच किलोमिटर तल त्रियुगा नगरपालिका–६, मोहनपुरस्थित त्रियुगाखोलामा बिहान साढे ८ बजे मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बाढी मुर्कुचीबजार पस्दा आमाछोरा दुवैलाई बगाएकोमा आमा बाँच्न सफल भए पनि आर्यनलाई बाढीले बगाएर रातिदेखि बेपत्ता पारेको थियो।

रातिभारी वर्षा, अध्याँरो र बाढीबाट बाँच्न सबै सुरक्षित स्थानतर्फ लाग्नु परेकाले उनको खोजी हुन सकेको थिएन। घटनाको खबर पाउनेबित्तिकै सदरमुकामबाट उद्धार टोली पठाइए पनि राति खोला तर्न नसकेका कारण बिहान मात्र घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

यस्तै रोतामाई–८ कै डिल्लीबरस्थित गहिरी गाउँमा घरसहित पहिरोले बगाउँदा ५५ वर्षीया रणमाया रिखाम मगरको पुरिएर मृत्यु भएको छ।

उदयपुरमा बाढीका कारण योसहित मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि चौदण्डीगढी–४, बसाहाका ३१ वर्षीय मनकुमार राईको दुई दिनअघि स्थानीय लामा खोलाले बगाएर मृत्यु भएको थियो। बेलका नगरपालिका–१, तपेश्वरीका तारा श्रेष्ठको बाढीले बगाएर मृत्यु भएको थियो।

सदरमुकामदेखि ३६ किलोमिटर टाढा घटनास्थलतर्फ बिहानै सदरमुकामदेखि प्रहरी र उद्धार टोली पठाइएको भए पनि अहिलेसम्म पुगेको छैन। सडक जताततै भत्केका कारण टोली पुग्न समय लाग्ने बताइएको छ। नयाँ तथा पुराना सडकहरू सबै भत्केका कारण यातायात आवागमन रोकिएकाले  आवश्यक उद्धार टोली परिचालन गर्न कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुब खड्काले बताए।

प्रकाशित: ३१ असार २०७६ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App