समाज

वर्षाले उपत्यकामा लाखौंको क्षति, कर्मानासा खोलाको त्रास कायमै

काठमाडौं - बिहीबार रातीबाट परेको अविरल वर्षाले काठमाडौं उपत्यकमा लाखौंको क्षति भएको छ। लगातारको वर्षाले काठमाडौं र ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र शुक्रबार डुबानमा परेको थियो। वर्षाले उपत्यकाका बागमती, विष्णुमति, धोबीखोला, गोदावरी, टुकुचा, मनोहरालगायत नदीमा आएको बाढीले नदीतटीय क्षेत्र डुबानमा पर्दा सो क्षेत्रमा बसोबास गर्नेहरु विस्थापित भएका थिए।

बाढीले आफूहरुको व्यवसायमा नराम्रो क्षति पुगेको ललितपुर ग्वार्खोका स्थानीय बताउँछन्। ग्वार्खोमा ब्याग पसल चलाउँदै आएका मृग्रेन्द्र राईले बाढीका कारण झण्डै डेढ लाखको क्षति भएको बताए। ‘किस्ट अस्पतालबाट छिरेको बाढीले डेढ लाखको जुत्ताचप्पल बर्बाद भयो,’ उनले भने, ‘अहिले पनि बाल्टिनले पानी बाहिर फालिरहेका छौं। भिजेका जुत्ता सुकाउँदैछौं। कति जुत्ताचप्पल त पानीले बगाएर लग्यो।’

उनका अनुसार कर्मनासा खोलाको पानी किस्ट अस्पताल परिसरबाट बस्तितिर छिरेको थियो। बाढीले अस्पताल वरपरको पसल तथा गोदाम पूरै डुबानमा परेको उनले बताए। उनले भने, ‘बिहीबार रातभर परेको पानीले पसल त पूरै डुबेछ। शुक्रबार बिहान आउँदा त जताततै पानी नै पानी भरिएको थियो।’

ग्वार्कोका विक्रम केसीले कर्मनासा खोलाको पानीले घरको भुइँतला डुबेर बिजोग भएको बताए। ‘खोलाको बाढी पसेर भुइँतला डुब्दा घरका सबै सरसमान भिज्यो। मोटरले ताने पनि पानी अझै सुकिसकेको छैन,’ उनले भने, ‘कर्मनासाको खोलाबाट अझै बाढी आउला कि भन्ने त्रासमा छौं।’ ललितपुरको बडिखेल कोड्कुबाट सुरु हुने कर्मनाशा खोला ग्वालिन्दह, बाँडेगाउँ, हात्तिबन हुँदै ग्वार्खो आइपुग्छ। सो क्रममा धेरै ठाउँमा साँधुरिएको खोलामा जताततै बाट वर्षातको पानी भरिन जाँदा सो खोला छेउका होचा बस्ती प्रायः डुबानमा पर्ने गरेको छ। किस्ट अस्तपाल रहेको क्षेत्र विगतमा पनि डुबानमा पर्ने गरेको थियो।

बिहीबारको वर्षातले ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको भुइँतला डुबानमा परेको थियो। अस्पतालमा बाढी पस्दा परीक्षण उपकरण लगायतका समानमा क्षति पुगको अस्तपालले जनाएको छ। प्रारम्भिक अनुमानमा लाखौंको क्षति भएको देखिएको अस्तालले जनाएको छ। बाढीले गर्दा एक्सरे सेवा तथा इमर्जेन्सी र ओपडी सेवा दिन कठिन भइरहेको अस्पतालले जनाएको छ।

बाढीले अस्पताल वरपरका औषधि पसलमा पनि क्षति पुगेको छ। सोही स्थानको इजी फर्मामा पानी पस्दा पाँच लाख बराबरको औषधि नष्ट भएको सञ्चालकले बताए। त्यस्तै, इमाडोलका स्थानीय नबिन लिम्बुले घरभित्र बाढी पस्दा लाखौंको क्षति भएको बताए। उनले भने, ‘बाढी घरभित्र पसेर चामल, प्रिजलगायतका सामान बिग्रिएका छन्। मेरो क्याफेमा पनि पानीले बर्बाद बनायो।’ भक्तपुरमा बेपत्ता भएको एक जनालाई जिवितै उद्धार गरिएको छ। ‘कलंकी, कुलेश्वर क्षेत्रको अवस्था सामान्य छ,’ उनले भने, ‘क्षतिको विवरण यकिन भएको छैन।’ शुक्रबार बल्खु खोलाको पानी बस्तीमा बसेपछि कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय डुबानमा परेको थियो।

प्रकाशित: ३० असार २०७६ ०१:४८ सोमबार

डुबान वर्षा क्षति त्रास