समाज

नेपाल जलवायु परिवर्तनको ‘हटस्पट’

काठमाडौ - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपाल जलवायु परिवर्तनको हटस्पट भएको बताएका छन्। शुक्रबार संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चमा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन्। संयुक्त राष्ट्रसंघको आयोजनामा दीगो विकास सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले नेपालले नगन्य रुपमा कार्बन उत्सर्जन गर्दा पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सहनु परेको बताए।

कार्यक्रममा बोल्दै कँडेलले नेपाल सरकारले जलवायु परिवर्तनसहितका विश्वस्तरीय विषयमा छलफलका लागि सगरमाथा संवाद कार्यक्रम गर्न लागिएको जानकारी दिए। जुलाइ ९ बाट न्युयोर्कमा सुरु भएको कार्यक्रममा उपाध्यक्ष कँडेलले ‘गोल १३ क्लाइमेट एक्सन’ छलफलमा आफ्ना भनाइ राखेका थिए। उनले पर्यावरणका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था इसिमोडद्वारा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका बारेमा सार्वजनिक रिपोर्टलाई आधार मान्दै जलवायुका क्षेत्रमा आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।

प्रकाशित: २९ असार २०७६ ०२:०५ आइतबार

नेपाल_जलवायु हटस्पट कार्बन