समाज

सप्तकोसीमा पानीको बहाव बढ्दै

इटहरी - सप्तकोसी नदीमा शनिबार दिउँसो पानी बहाव दुई लाख ४६ हजार १३५ क्यूसेक पुगेको छ। नदीमा दुई दिनयता निरन्तर पानीको बहाव बढ्दो क्रममा छ। पहाडी जिल्लामा वर्षा भएसँग सप्तकोसीमा पानीको बहाव बढ्दै गएको हो। नदीमा पानीको बहाव बढेसँगै सुरक्षा निकाय संवेदनशील भएका छन्।

कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले ३३ वटा खुल्ला गरिएको छ । पानीको वहाब बढेमा आवश्यकता अनुसार, अरु ढोका खुल्ला गर्न भारतीय पक्षलाई आग्रह गरिने छ।

कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ । तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला बर्षमा पानीको बहाव चार लाखभन्दा मुनि नै रहेकाले गर्दा कुनै अनुमान लगाउन सक्ने अवस्था छैन । अघिल्लो वर्ष सप्तकोसीमा पानीको बहाव दुई लाख ८४ हजार नौं सय ९० पुगेको थियो । नदीमा अहिलेसम्मको पानी मापनको तथ्याङ्क हेर्दा सवैभन्दा बढी स्न १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो ।  त्यसपछि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको थियो ।

२०६५ भदौं २ गते सप्तकोसी नदीले पुर्वी तटबन्ध भत्काएर कोसी गाउँपालिकाका चारवटा वस्ती डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका  थिए । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।  दुई लाख काटनेवितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ । पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ ।
 

प्रकाशित: २८ असार २०७६ ०७:०१ शनिबार

बहाव सप्तकोसी