समाज

सरकारी जग्गा व्यक्तिको नाममा भेटिएपछि चर्कियो आन्दोलन

बरहथवा नगरपालिका कार्यालय परिसरमा विरोध प्रदर्शन गर्दै स्थानीय । तस्बिरः टंक/नागरिक

सर्लाही– जिल्लास्थित बरहथवा नगरपालिकाको हजारियाको सरकारी जमिन भित्रभित्रै व्यक्तिका नाममा लालपूर्जा बनिसकेको तथ्य फेला परेको छ। मालपोत कार्यालय बरहथवाको कम्प्युटरमा सरकारी प्लट कायम रहेको साविक हजरिया गाविस–७ तथा हाल बरहथवा नगरपालिका–४ स्थित ७ विगाह १४ कठ्ठा १५ धुर मध्ये ६ विगाह १४ कठ्ठा जमिन भित्रभित्रै स्थानीय एक व्यक्तिका नाममा लालपूर्जा बनेको फेला परेको हो।

मालपोतको कम्प्युटरमा ३२८ कित्ता नं. को ७ विगाह १४ कठ्ठा १५ धुर प्लट मध्ये २०६२ साल कार्तिक १९ गते किता नं. ३२८ को ५ बिगाहा १० कठ्ठा र कित्ता नं. ३१४ को १ बिगाह ४ कठ्ठा स्थानीय जागदेव महतोको नाममा लालपुर्जा बनेको फेला परेको छ।

बरहथवा नगरपालिका ४ नं. वडा कार्यालयको सिफारिससहित महतोले कित्ता नं. ३२८ को ५ विगाह १० कठ्ठा मध्ये स्थानीय बच्चेलाल महतोकी पत्नी कान्ती देवीलाई ३ विगाह ११ कठ्ठा तथा ३१४ कित्ता नं. को १ विगाह ४ कठ्ठा मध्ये १ विगाह ३ कठ्ठा आफ्नै छोरी आनन्दी देवीलाई विक्री गर्ने लिखतसहित लालपुर्जा बोकेर गत बिहिबार मालपोत कार्यालय बरहथवा पुगेपछि सरकारी जग्गाको लालपूर्जा व्यक्तिको नाममा बनिसकेको खुलेको मालपोत कार्यालय प्रमुख विन्देश्वर महतोले बताए।

‘खै म पनि छक्क परेको छु, हाम्रो कम्प्युटरमा सरकारी कायम प्लट मध्येको जग्गा कसरी व्यक्तिको नाममा लालपूर्जा बन्यो’, मालपोत प्रमुख महतोले भने, ‘जग्गा बिक्री गर्न लिखतसहित बोकेर आएको लालपूर्जाको कैफियत महलमा हेर्दा शंका लागेपछि तुरुन्त काम रोक्यौं।’ जागदेव महतोको नाममा रहेको लालपूर्जाको कैफियत महलमा २०६२ साल कात्तिक १९ को निर्णयले वडा नम्बर ७ कि.नं. ३१४ र ३२८ श्रेष्ता कायम गरिएको उल्लेख छ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सांसद् हरि उप्रेतीले २०६२ साल चैत २३ गते माओवादी आक्रमणमा मालपोत कार्यालयको कागजात जलेको बहानामा त्यसअगाडीकै मितिमा भू–माफियाहरुको मिलेमतोमा मालपोतका कर्मचारीले उक्त जमिनको लालपूर्जा व्यक्तिको नाममा गरिदिएको बताउँछन्। उक्त जमिन २०१८ सालदेखि स्थानीयले ढालफाँड गरेर जोतभोग गरिरहेका छन्। ऐलानी जमिन मालपोत कार्यालयको कम्प्युटरमा भने सरकारी प्लटको रुपमा कायम थियो। तर भू–माफिया मार्फत व्यक्तिका नाममा लालपूर्जा बनेको थाहा पाएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

स्थानीयले चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन्। आइतबार दिउँसो बरहथवास्थित मालपोत कार्यालय, नापी कार्यालय र बरहथवा नगरपालिकामा ज्ञापन पत्र पेश गरेका छन्। त्यस्तै आक्रोशित भिडले आइतबार दिनभर बरहथवा बजार बन्दसमेत गराएको छ। भिडले मालपोत कार्यालयमा सामान्य ढुंगामुढासमेत प्रहार गरेको छ। ज्ञापनपत्रको यथाशिघ्र सम्बोधन नभए थप आन्दोलनको घोषणा गरिने स्थानीयले चेतावनी दिएका छन्।

मालपोत प्रमुख महतोले आफू र कार्यालयका नायव सुब्बा सुशिल दासमाथि अनाहकमा हातपात समेत गरिएको गुनासो गरे। ‘हामीले किनबेच रोकेकै कारण लालपूर्जा काण्ड बाहिर आयो’, मालपोत प्रमुख महतोले नागरिक न्यूजसँग गुनासो गरे, ‘तर हामीमाथि नै मुक्का प्रहार भएको छ।’

वर्षौदेखि जोतभोग गर्दै आएको र अहिले एकाएक अर्कोको नाममा लालपुर्जा बनेपछि त्यसको विरुद्धमा स्थानीय आन्दोलनमा उत्रनु परेको बरहथवा नगरपालिका–२ का वडा अध्यक्ष यज्ञबहादुर खड्काले जानकारी दिए। २०२२ सालदेखि घर बनाएर बसेको जग्गा अर्कैले आफ्नो नाममा पारेपछि समस्यामा परेको स्थानीय कुलबहादुर कार्कीले गुनासो गरे।

सार्वजनिक जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने र त्यसका लागि सहयोग गर्नेमाथि कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन्। उक्त क्षेत्रको सयौं विगाह जमिन ऐलानीको रुपमा जोतभोग गरिरहे पनि भित्रभित्रै यसरी नै कुनै अमुक व्यक्तिको नाममा लालपूर्जा बनिसकेको छ कि भन्ने त्रासमा स्थानीय परेका छन्।

त्यस्तै बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले वर्षौंदेखिको ऐलानी जमिन कुनै अमुक व्यक्तिको नाममा दर्ता हुनु साह्रै गलत भएको बताए। गैरकानूनी काममा संलग्न सबैलाई कानूनी दायरामा ल्याउन उनले माग गरे।

प्रकाशित: १६ असार २०७६ १२:४२ सोमबार

सरकारी_जमिन व्यक्तिगत_लालपूर्जा बिराेध_प्रदर्शन