समाज

कृष्णभीरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, २५ घाइते

धादिङ  – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा बस तथा दुुई माइक्रो एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

आइतबार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु१ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा३ख १००४ नम्बरको माइक्रो र बा२ख ४५६७ नम्बरको माइक्रो एक–आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा धादिङ बेनीघाट रोराङ गाउँपालिका, महादेवस्थानका २७ वर्षीय श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २५ वर्षीया गीता गिरीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका १८ जनाको काठमाडौंमा उपचार भइरहेको छ भने अन्य घाइते सातजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरी चौकी जोगिमाराले बा३ख १००४ नम्बरको चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–७ का २७ वर्षीय रविन खड्कालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित: १६ असार २०७६ ०१:४९ सोमबार

पृथ्वी_राजमार्गअ रोराङ_गाउँपालिका दुर्घटना