समाज

जुत्ता सिलाएरै उच्च शिक्षा पढ्ने धोको

जुत्ता बनाउन सिक्दै विपन्न महिला । तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत– भेरीगंगा नगरपालिका–६ कि दीया गहतराजले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएकी छिन्। परीक्षापछिको खाली समयको सदुपयोग गर्दै उनी अहिले जुत्ता सिलाउने तालिम लिइरहेकी छन्। दीयाको घरको आर्थिक अवस्था कमजोर छ।

उच्च शिक्षा अध्ययनका लागि आमा–बुवाले खर्च जुटाउन नसक्ने बताइसकेका छन्। 'घरको आर्थिक अवस्था कमजोर छ’ दीयाले नागरिक न्यूजसँग भनिन्, ‘सीप सिकेर कमाउँदै पढ्दै गर्ने सोच बनाएकी छु।’ घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतको सहयोगमा उद्यमशिलता विकास संस्था प्रालिले आयोजना गरेको १६ दिने जुत्ता बनाउने तालिममा उनी सहभागी छिन्। ‘यहीँ सीप मेरा लागि उच्च शिक्षा अध्ययन गर्ने माध्यम बन्छ’ दीयाले भनिन्, ‘तालिम लिइरहेका सबैले सामुहिक जुत्ता उद्योग सञ्चालनको तयारी गरेका छौं।’

सोही ठाउँकी विमला सुनार घरकी बुहारी मात्रै होइनन्, एक कुशल आमा पनि हुन्। विहानै उठेर चुलोचौको गर्नु, घरपरिवार र छोराछोरीलाई खाना खुवाउनु, स्कूल पठाउनु उनको दैनिकी हो। विमला घर व्यवहारबाट बचेको समयमा जुत्ता सिलाउने तालिम लिइरहेकी छन्। ‘बालबच्चालाई राम्रो शिक्षा, घरायसी आवश्यकताहरु पूर्ति गर्नका लागि तालिम लिइहेकी हुँ’ विमलाले भनिन्, ‘सीप सिकेर घरव्यवहारबाट बाँकी रहेको समयमा यहीँ पेशा गर्ने सोच बनाएकी छु।’

दीया र विमलाजस्तै तालिममा सहभागी पाँच पुरुष र चार महिलाले घरेलुमै सामुहिक उद्योग दर्ता गर्ने तयारी गरेका छन्।  ‘सामुहिक रुपमा जुत्ता उत्पादन गरेर बजारिकण गर्ने लक्ष्य हामीले लिएका छौं’ तालिममा सहभागी मानबहादुर बुढाले भने, ‘सुर्खेतलाई नै राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान दिने लक्ष्य हाम्रो छ।’

एक्ला–एक्लै भन्दा सामुहिक व्यवसाय गर्दा सहज हुने भएकाले सामुहिक उद्योग दर्ता गरिएको बताए। उनका अनुसार एक दिनमा एक जनाले न्यूनतम तीन जोर जुत्ता उत्पादन गर्न सकिन्छ। ‘नौ जनाले दिनमा २७ जोर जुत्ता उत्पादन गर्न सक्छौं’ उनले भने, ‘सामुहिक काम गर्दा बजारको माग पनि धान्न सकिने आँकलन हामीले गरेका छौं।’ उनीहरुले आफूसँगै अरुलाई पनि रोजगारी दिने लक्ष्य लिएका छन्।

प्रकाशित: ८ असार २०७६ ११:१० आइतबार

दीया_गहतराज जुत्ता_सिलाउने_तालिम एसइई