समाज

विद्युत् नहर मर्मतमा खटिए सुरक्षाकर्मी

नहर मर्मत गर्दै सुरक्षाकर्मी। तस्बिरः नागरिक

मुगु–नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रबाट उत्पादन भई वितरण हुँदै आएको विद्युत् सेवा बन्द भएपछि विद्युत् नहर मर्मतमा सुरक्षाकर्मी खटिएका छन्। विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विद्युत् नहर बनाउन खटिएको हो। 

एक सातादेखि विद्युत् नहर चुहिन थालेपछि जिल्लाका सरकारी तथा गैरसरकारी निकाय, उद्योगधन्दा, निजी व्यवसाय एवम् सम्पूर्ण  सेवाग्राही मर्कामा छन्। विद्युत् सेवा बन्द हुँदा गमगढीलगायत छायानाथ रारा नगरपालिकाभित्र रहेका २२ सय घरधुरी अन्धकारमा बस्न बाध्य छन्। 

चुहिएर भत्कन थालेको एक सय ३० मिटर नहरको ८० प्रतिशत मर्मत कार्य सकिएकाले अबको एक हप्ताभित्र विद्युत् सेवा सञ्चालनमा आउन सक्ने नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले जनाएको छ।

 ‘उज्यालोका लागि सल्लोको दियालो प्रयोग गरिन्छ, तर त्यो सजिलै पाइँदैन,’ स्थानीय जयलक्ष्मी खड्काले भनिन्, ‘स्थानीयलाई साँझ पर्न थालेपछि कसरी उज्यालो गर्ने भन्ने चिन्ताले सताउने गरेको छ।’

विद्युत् नहुँदा विद्यार्थीको पढाइमा समेत असर परेको छ। घरमा बत्ती नहुँदा साँझको समयमा पढ्न नपाउने गरेको विद्यार्थीको गुनासो छ। 

छायानाथ रारा नगरपालिका–४, बालैखाम गोइटे भन्ने स्थानमा विद्युत् नहरबाट पानी चुहिएर स्थानीयको जग्गामा पहिरो जान थालेपछि त्यसको मर्मत गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द गरिएको प्रमुख शिवप्रसाद पाण्डेले बताए। 

प्रकाशित: ६ असार २०७६ ०९:३४ शुक्रबार

विद्युत् कामकाज_ठप्प सुरक्षाकर्मी