समाज

व्यावसायिक फेरो समाउँदै मैवाखोलाका होमस्टे

कोलडाँडा सामुदायिक होमस्टे क्षेत्रका एक सञ्चालकले पर्यटक स्वागतका लागि तयार गरेको नीलकाँडा अगाडि फोटो खिच्दै आन्तरिक पर्यटक। तस्बिरः खगेन्द्र/नागरिक

ताप्लेजुङ– होमस्टेको परिकल्पना त के, यसको सम्भावनालाई समेत ज्यादै कम आँक्ने स्थानीय परिवेश उल्टाउँदै ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुमा खोलिएका होमस्टे अहिले व्यावसायिक र व्यस्त बन्दै गएका छन्।

एकाध होमस्टेले व्यावसायिक सेवा सुरु गर्दा तिनकै भविष्य संकटमा देख्नेहरू नै अहिले एकपछि अर्को गर्दै होमस्टे खोलेर व्यावसायिक योजना बनाइरहेका छन्। ‘बलियो सम्भावना देखेपछि होमस्टेलाई थप महŒव दिएका छौं’,साँघुमा रहेको कोलडाँडा सामुदायिक होमस्टेका सदस्य रेणु चोङ्वाङले भने। उनका अनुसार अघिल्लो वर्षसम्म होमस्टेको खासै चर्चा र महŒव थिएन। साँघु आइपुग्नेहरूले आवास तथा खानाका लागि पहिलो रोजाइकै रुपमा होमस्टे खोज्ने गरेको उनले जानकारी दिए। कोलडाँडा सामुदायिक होमस्टेमा जम्मा १३ घरधुरी रहेका छन्। बढीमा ५ जनासम्म अट्नेगरी होमस्टेमा पर्यटकीय सुविधा उपलब्ध गराउने गरिएको छ।

‘स्थानीय परिकारलाई महत्त्व दिएर होमस्टेबाट मनग्गे आर्थिक उर्पाजनको सम्भावना देख्दै गएकी छु’ कोलडाँडा सामुदायिक होमस्टेकी अध्यक्ष शिवकुमारी चोङ्वाङले भनिन्। उनका अनुसार अहिले यहाँका होमस्टेमा आन्तरिक पर्यटक मात्र आउने गरेका छन्। निर्माणाधीन मदन भण्डारी राजमार्गको स्तरोन्नति भएर तेह्रथुमको वसन्तपुरबाट संखुवासभाको साँघु हुँदै दोभान–ताप्लेजुङ बजारसम्मको सहज यातायात सेवा सुरु भएमा यहाँका होमस्टे आन्तरिक तथा बाह्य पर्यटकले भरिने स्थानीयको विश्वास छ।

मदन भण्डारी राजमार्गको दोभान–ढुङ्गेसाँघु–साँघु–गुफा हुँदै चौकीसम्मको खण्ड त्यति राम्रो नहुँदा यहाँ नियमित रुपमा सवारी यातायात कठिन छ। त्यही भएर यो सडकखण्ड मर्मतसम्भार तथा स्तरोन्नतिका लागि होमस्टे सञ्चालकहरू आफैंले पनि पहल गरिरहेका छन्।

२ वटा सामुदायिक होमस्टे सञ्चालनमा रहेको साँघुमा अर्को अर्को होमस्टे सेन्टर हो, रमितेडाँडा सामुदायिक होमस्टे। ९ घरधुरी आबद्ध रहेको यो होमस्टे क्षेत्रको विशेषता हो जातीय विविधता। अधिकांश लिम्बू(चोङ्वाङ) समुदाय सञ्चालक रहेको रमितेडाँडा सामुदायिक होमस्टेमा भण्डारी र ढुङ्गेल थरका दुई ब्राह्मण समुदायका सदस्य पनि होमस्टे सञ्चालक छन्। पर्यटक संख्याको आधारमा कुन घरमा कति आगन्तुकलाई राख्नुपर्ने हो, त्यसको निक्र्यौल सामुदायिक संस्थाले गर्छ।

यसबाहेक सम्पर्कको आधारमा समेत आगन्तुकहरू होमस्टेका आउने–जाने गर्छन्। यहाँका होमस्टे सामुदायिक संस्थाको अर्को रोचक पक्ष भनेको दुवै सामुदायिक संस्थाको नेतृत्वकर्ता महिला छन्। रमितेडाँडा सामुदायिक संस्थाका अध्यक्ष सुकमाया चोङवाङ भर्खर बामे सर्दै गरेका होमस्टेले अब भने आसा जगाउन थालेको बताउँछिन्।

मदन भण्डारी मार्गको चौकी–सडकखण्ड व्यवस्थित भए होमस्टेमा आउने पर्यटकको कमी नहुने उनको बुझाइ छ। मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी स्थानीयस्तरमा होमस्टे व्यवस्थित हुन थालेपछि गाउँ–घरमा चहलपहल बढेको बताउँछन्। उनले गाउँपालिकामा व्यवस्थित हुन थालेका होमस्टेमा बढ्न थालेको चहलपहलले व्यावसायिक आशा जगाएको बताए।

होमस्टे व्यवस्थापनका लागि विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ)सँग मिलेर हिमाली संरक्षण मञ्चले सहयोग गर्दै आइरहेको छ। हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार त्यहाँका २२ घरधुरी होमस्टे सञ्चालकलाई प्रारम्भिक चरणमा बिछ्यौना(बेड) सुधार अभियानअन्तर्गत प्रतिघरधुरी २ वटा बेड र त्यसका लाग्ने सिरक, डसना, तन्नासहितका सामग्रीमा सहयोग गरिएको छ।

त्यसमा गाउँपालिका र वडासमेतको सहकार्य रहेको उनले जानकारी दिए। स्थानीय परिकार र स्थानीय विविधतामा भुल्न पाउनु होमस्टेको अर्को विशेषता हो। पुग्ने बित्तिकै आगन्तुकलाई लगाइदिने मालादेखि त्यहाँको भौगोलिक बनावट र परिवेशले होमस्टेको सौन्दर्य अझ बलियो बनाएको मैवाखोला गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं ३ का वडाध्यक्ष दिवस चोङ्वाङ बताउँछन्। उनले मनोरम प्राकृतिक सौन्दर्य आन्तरिक तथा बाह्य पर्यटकका लागि आनन्ददायक क्षण रहने प्रस्ट्याए।

होमस्टे नजिक निर्माणाधीन लिम्बू संग्रहालयले अर्को स्वर्गीय आनन्द थप्ने स्थानीयको विश्वास छ। स्थानीय उत्पादनका अर्गानिक खाद्य वस्तुको उपभोग गर्नु पाउनुले स्थानीय परिवेशलाई भल्काउने कोलडाँडा सामुदायिक होमस्टे अध्यक्ष शिवकुमारीले जानकारी दिइन्। कम जोखिमपूर्ण धरातलले यहाँको वातावरण बस्न र रमाउनलायक रहेको उनले जानकारी दिइन्। मदन भण्डारी मार्गको साँघु–चौकी सडकखण्ड व्यवस्थित हुन सकेमा यहाँका होमस्टे फस्टाउन सहज विकल्प हुने उनको भनाइ रहेको छ।

प्रकाशित: ४ असार २०७६ ०७:१५ बुधबार

होमस्टे पर्यटन