समाज

कैलालीका हुरीपीडितलाई पाँच लाख राहत

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कैलालीका हुरीपीडितलाई मंगलबार तात्कालिक राहतस्वरूप पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। सहयोग रकम काठमाडौंस्थित केन्द्रीय कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको धनगढी उपमहानगरपालिकाको खातामा जम्मा गरिएको संघले जनाएको छ।

गत साता कैलाली कञ्चनपुरमा आएको विनाशकारी हुरीबाट सबैभन्दा प्रभावित धनगढी क्षेत्रका खास पीडितलाई सहयोगका लागि उपमहानगरपालिकाले गरेको अनुरोधका आधारमा तात्कालिक राहतस्वरूप सो रकम पठाइएको संघका कोषाध्यक्ष हिक्मत थापाले बताए। थापाका अनुसार संघले थप राहत सहयोग जुटाउन आफ्ना सबै शाखाहरूलाई अनुरोध गरिसकेको छ।

हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय जनाभन्दा बढी घाइते भएका थिए। हुरीले मुक्त कमैया, गरिब–विपन्न दर्जनौं परिवारको घरको छाना उडाइदिएको थियो।

प्रकाशित: ४ असार २०७६ ०२:२४ बुधबार

एनआरएनए हुरीपीडित राहत