समाज

दुई हजारले भरे गोसाइँकुण्ड मेला

रसुवा - गंगादशहराको अवसरमा २ हजारभन्दा बढी तीर्थयात्रीले गोसाइँकुण्ड मेला भरेका छन्। गत वर्षको तुलनामा यो वर्ष तीर्थयात्रीको आगमन बढेको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ।

गोसाइँकुण्ड जान मौसम अनुकूल भएको, पदमार्ग सुधार गरिएको तथा पदमार्गमा रहेका होटल सञ्चालनमा आइसकेकाले गत वर्षको तुलनामा तीर्थयात्रीको आगमन बढेको हो। मेला अवधिमा ९ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् भने २ जनाको उद्धार गरिएको छ। बुधबार मेला सकिए पनि तीर्थयात्री आउने क्रम भने जारी रहेको समितिका अध्यक्ष सञ्जीव डिएमले बताए।

हरेक वर्ष ज्येष्ठ प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ। जनैपूर्णिमामा लाग्ने मेलाको तुलनामा गंगादशहरा मेलामा कम तीर्थयात्री आउने गरेका छन्। गोसाइँकुण्ड जान धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारओटा पदमार्ग सञ्चालनमा छन्।

त्यहाँ पुग्न तीनओटा मुख्य बाटाहरू छन्। काठमाडौं–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो। काठमाडौंबाट धुन्चेसम्म सवारीयात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ।

त्यसैगरी काठमाडौं–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी अर्को बाटो आउँछ। धेरै कम यात्रुले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर कुनै पनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइँदैन। कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनी हजारौैं भक्तजन कुण्डमा स्नान गर्न आउने गर्छन्।

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:०५ बिहीबार

गोसाइँकुण्ड_मेला तीर्थयात्री