समाज

धारामा लेदो आएपछि खानेपानी सङ्कट

प्रतिकात्मक तस्बिर

ओखलढुङ्गा– धारामा लेदो पानी आएपछि ओखलढुङ्गा सदरमुकाममा खानेपानी सङ्कट उत्पन्न भएको छ।

ओखलढुङ्गा खानेपानी उपभोक्ता समितिद्वारा वितरित पानी तीन दिनदेखि धमिलो लेदोसहित आएपछि सदरमुकाममा खानेपानीको समस्या भएको हो। बुधबार बिहानदेखि धारामा निरन्तर धमिलो प्रदूषित पानी आएकाले पिउने पानी नभएको स्थानीय रविना सुनुवारकाे भनाइ छ। 'एकदमै फोहर, माटैमाटो लेदो हेर्दै घिनलाग्दो पानी आउँछ धारामा। खाना त बाहिर गएर खाइयो। पिउने पनि पानी छैन।'

रविना जस्तै सदरमुकामका स्थानीय तथा कोठा भाडामा लिएर बसेका समस्यामा छन्। धारामा धमिलो पानी आएपछि होटल व्यवसायी त्यसको मारमा परेका छन्। पानी अभावका कारण व्यवसाय सञ्चालनमा समस्या भएको रोज रेस्टुरेन्टका सञ्चालक गोपाल बज्राचार्यले बताए। 'मिनिरल वाटरले व्यवसाय धान्नुपर्ने अवस्था आयो', बज्राचार्यले भने, 'ग्राहक तातोपानी माग्छन् मिनिरल वाटर तताएर दिने कुरा भएन। पानी छैन हजुर भनेर टार्नुपरेको छ।'

सर्वसाधारण पनि केही दिनअघि थापेको पानी र मिनिरल वाटरको भरमा छन्। पानीको मुहानमा भल पसेकाले समस्या भएको खानेपानी उपभोक्ता समितिका सचिव रुपेश शाक्य बताउछन्। मुहान र ट्याङ्की सरसफाइ गरेर सफा खानेपानी उपभोक्तालाई उपलब्ध गराउन आफूहरु लागि रहेको उनको भनाइ छ। अव्यवस्थित मुहान र वितरण प्रभावकारी नहुँदा ओखलढुङ्गा सदरमुकाममा खानेपानीको समस्या बढ्दै गएको छ। रासस

प्रकाशित: २४ जेष्ठ २०७६ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App