समाज

‘हिमालको संरक्षण गर्नु सबैको कर्तव्य’

सोलुखुम्बु – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हिमालको संरक्षण सबैको कर्तव्य भएको बताएका छन्। खुम्बु पासाङल्हमू गाउँपालिका–३ नाम्चेबजारमा आयोजित सगरमाथा हिमाल सरसफाइ अभियान–२०७६ मा सहभागी बनेका उनले सगरमाथा राष्ट्रको गौरव भएकाले सफा राख्न सुरु गरिएको अभियानले अन्तर्राष्ट्रिय जगत्मा सामाजिक चेतना प्रवाह गरेको बताए।

रक्षामन्त्री पोखरेलले मन्तव्यका क्रममा केही समय नेपाली सेनाको प्रशंसामा खर्चेका थिए। ‘राज्यका हरेक अप्ठ्यारामा नेपाली सेनाले खेलेको भूमिका प्रशंसा गरेर सकिँदैन,’ उनले भने, ‘सगरमाथा सरसफाइमा सेनाले गरेको योगदान पनि सम्झन लायक छन्।’

उनले हिमाल सरसफाइमा केन्द्रीय सरकारले पनि अपनत्व लिने बताए। ‘खुम्बु क्षेत्रमा सडक पु-याउने सन्दर्भमा स्थानीय तह र प्रदेश सरकारले नसक्ने अवस्था आए कारणसहित केन्द्रीय सरकारलाई जिम्मा दिनुस्, उच्च प्राथमिकताका साथ आगामी वर्षको योजनामा समेट्छौं,’ उनले भने, ‘खुम्बुमा सडक पु-याउन दुई वर्ष लगाउनुहँदैन। आगामी आर्थिक वर्षभित्र नै सडक सञ्जालले जोड्नेगरी बजेट विनियोजन आवश्यक भएको उनले बताए।

सन् २०२० को पर्यटन वर्षलाई सफल पार्न सरोकारवाला एक ढिक्का भएर लाग्नुपर्ने बताए। उनले पत्रकारहरूलाई सकारात्मक सन्देश प्रवाहमा ध्यान दिन र पर्यटन विकासमा टेवा पु¥याउन आग्रह गरे। मन्त्री पोखरेलले स्थानीय तहले कार्यसम्पादनको शैली परिर्वतन गर्नुपर्नेमा जोड दिए। परम्परागत शैलीमा विकासका योजना सञ्चालन गरिए समृद्धि प्राप्तिमा ढिलाइ हुने उनको भनाइ थियो।

प्रकाशित: १४ जेष्ठ २०७६ ०२:२५ मंगलबार

फोहोर सगरमाथामा हिमाल