राजापुर - अन्न भण्डारको रूपमा परिचित राजापुरको भवराटप्पुका किसान र जग्गाधनी एकै थलोमा बसेर बुधबार एउटा निष्कर्षमा पुगे। जग्गाधनीले उत्पादित अन्नको तिक्कुर बटैया (चार भागको तीन भाग) नदिए खेती नगर्ने किसानले घोषणा गरे भने जग्गाधनीले किसानलाई तिक्कुर नदिने निर्णय गरेका छन्। राजापुर, हनुमानगढी मन्दिरपरिसरमा भएको भेलामा दुवै पक्षका सय÷सय जनाको उपस्थिति थियो।
किसानको तिक्कुर बटैयाको अन्यायपूर्ण माग भएको जानकारी गराउँदै राजापुरका उपप्रमुख मनकला चौधरीलाई जग्गाधनीले ज्ञापनपत्र बुझाएका छन्। जग्गाधनीले बटैयामा खेती लगाए खेती गर्ने किसानलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने किसानको निष्कर्ष छ। यस्तै, कुनै पनि जग्गाधनीले तिक्कुर दिए जग्गाधनीलाई नै ५० हजार रुपैयाँ जरिवाना गर्नसक्ने निर्णयमा उल्लेख छ। परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा जबर्जस्ती लाद्न खोज्ने समूह यतिखेर राजापुर क्षेत्रमा सक्रिय रहेको पाइएको छ। जग्गाधनी र किसानलाई तर्साउन विभिन्न किसिमका प्रचार र पम्प्लेट बाँड्ने र टाँस्ने गरिएको छ। यस्ता गतिविधिले जग्गाधनी र किसान दुवैमा त्रास उत्पन्न भएको छ। जग्गाधनीसँग असन्तुष्ट किसान तिक्कुर बटैया खेती लगाउने मुद्दालाई अघि बढाइरहेका छन्। जसले गर्दा जग्गाधनी र किसान दुवै मर्कामा परेको स्थानीय बताउँछन्।
राजापुर क्षेत्रको सयौं बिगा खेतीयोग्य जमिन बाँझै रहने सम्भावना
किसान र जग्गाधनीबीच द्वन्द्व बढ्दा राजापुर क्षेत्रका सयौं बिघा खेत बाँझै रहने देखिएको छ। कृषिमा आश्रित जग्गाधनी र किसानबीच द्वन्द्व बढेकाले यहाँका स्थानीय आतंकित बनेका छन्। टाढाबाठा किसान तथा जग्गाधनीले यो मुद्दालाई उक्साएको स्थानीयको भनाइ छ। ‘कतिपय जग्गाधनी मेसिनरी सामान प्रयोग गरी खेती गर्ने तयारीमा छन्, उनीहरूलाई फाइदा भयो,’ उनले भने, ‘जग्गा भएर बाहिर बस्नेलाई घाटा हुन्छ। साथै खेतीमा आश्रित किसानले खेती गर्न पाएनन् भने साँझबिहान जोहो गर्न गाह्रो छ।’ यसरी द्वन्द्व बढाउन चुनावी वाचा गर्ने जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको स्थानीयको आशंका छ। बडघर (गाउँको मुखिया) ले तिक्कुर बटैया दिनैपर्ने भन्दै नेतृत्व गरिरहेको जग्गाधनीको आरोप छ। साथै बडघरलाई निर्वाचित स्थानीय जनप्रतिनिधिले पनि साथ दिइरहेको स्रोतको भनाइ छ।
जग्गाधनी र किसानको समझदारीमा भइरहेको परम्परागत चलनलाई लत्याइँदा तिक्कुर बटैयाले मनमुटाव देखिएको उद्योग वाणिज्य संघ, राजापुरका अध्यक्ष कृष्ण रेग्मीले बताए। ‘यस्तो द्वन्द्वले दुवै पक्षलाई फाइदा पुग्दैन,’ उनले भने, ‘समझदारीमा गए मात्र दुवै पक्षलाई फाइदा छ।’ रेग्मीका अनुसार मेसिनरी सामान प्रयोग गरी खेती गरिने हुनाले तिक्कुर माग जायज छैन। ‘अहिले सबै खेतीमा मेसिन प्रयोग गरिन्छ,’ उनले भने, ‘सबै खर्च जग्गाधनी र किसानले आधाआधा बेहोर्छन्, यस्तो अवस्थामा किसानको कसरी तिक्कुर माग जायज हुन्छ ?’ उनले अधिकांश जग्गाधनीसँग अहिले चार बिगाभन्दा बढी खेती नभएको बताए।
प्लेट बाँड्ने र टाँस्ने गरिएको छ। यस्ता गतिविधिले जग्गाधनी र किसान दुवैमा त्रास उत्पन्न भएको छ।
तिक्कुर बटैया माग गर्दा जग्गाधनीलाई अन्याय भएको जग्गाधनी ज्ञानमाया रिजालले बताइन्। ‘मलगायत जग्गाधनीले किसानको अन्यायपूर्ण माग भएको स्थानीय सरकारलाई ज्ञापनपत्रमार्फत जानकारी गरायौं,’ उनले भनिन्, ‘जग्गाधनीले किसानको माग सम्बोधन गर्ने अवस्था नै छैन, हामी तिक्कुर दिन सक्दैनौं।’ उपप्रमुख मनकलाले जग्गाधनीले ज्ञापनपत्र बुझाउँदा किसानको माग पनि सम्बोधन जरुरी भएको बताएको उनको भनाइ छ। राजापुर क्षेत्रमा पछिल्लो समय ‘मकवानपुर धान’को उत्पादन बढी हुने गरेको छ। २०५८ सालमा पहिलो पटक मकवानपुर जातको धान राजापुर क्षेत्रबाट सुरु भएको थियो। चिउरा बनाउन प्रयोग हुने मकवानपुरको माग उच्च छ। एक सिजनमा आठ हजार क्विन्टल धान उत्पादन भइरहेको कृषि विकास कार्यालयको रेकर्डमा उल्लेख छ।
प्रकाशित: १० जेष्ठ २०७६ ०१:४७ शुक्रबार