समाज

त्रिशूलीमा बस खसेर मृत्यु हुने ५ मध्ये तीनको सनाखत

धादिङ - झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी
 निरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य दुईको सनाखत भएको छैन ।

ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०५:३८ आइतबार

त्रिशूली मृत्यु सनाखत