समाज

गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित

बर्दिया - बढ्दो गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित बनेको छ। यसको प्रत्यक्ष प्रभाव मुख्य व्यापारिक केन्द्र बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, रूपन्देहीका भैरहवा र बुटवलमा देखापरेको छ। चर्को गर्मीका कारण पश्चिम तराईका मुख्य सहरका सडकमा आवागमनकर्ताको संख्या पातलिएको छ। मौसम पूर्वानुमान शाखा काठमाडांैले आइतबार बिहान ९ बजे भैरहवाको तापक्रम ३४, नेपालगन्जको ३० र कैलालीको ३२ डिग्री मापन गरेको छ। शाखाले शनिबार बिहान नेपालगन्जमा ३० डिग्री रेकर्ड गरेको तापक्रम आइतबार अहिलेसम्मकै अधिकतम ४३ दशमलव ५ डिग्री पुगेको छ। भैरहवा र धनगढीमा अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको छ।

सुक्खा हावा भएकाले गर्मी महसुस भएको मौसम पूर्वाअनुमान शाखाका मौसमविद् वरुण पौडेलले बताए। ‘खुला आकाशमा बादल छैन,’ उनले भने, ‘तापक्रम बढिरहेको छ। हावामा पानीको मात्रा अति न्यून छ।’ सोमबार र मंगलबार बदली भएकाले तापक्रम घट्ने उनको अनुमान छ। उनका अनुसार जेठ दोस्रो साता अझै तापक्रम उकालो लाग्नेछ। देशभर एकसाथ प्रि–मनसुन सक्रिय नहुँदासम्म तापक्रम बढ्ने क्रम नरोकिने पूर्वाअनुमान शाखाले जनाएको छ। ‘मौसमको तौरतरिका बदलिइरहेको छ,’ उनले भने, ‘पानी नपर्दा तापक्रम बढ्दै जाने हो।’ उनका अनुसार मनसुन प्रणाली देशभरि एकसाथ सुरु हुनुपर्नेमा मनसुनले तौरतरिकामा केही वर्षअघिदेखि बदलेको देखिन्छ। यतिखेर पहाडी क्षेत्रमा समेत तापक्रमको प्रभाव परेको पौडेलको भनाइ छ। चर्को गर्मीका कारण अत्यावश्यक काममा निस्कने पैदलयात्रीले गगल्स र छाता प्रयोग गर्न बाध्य छन्। घरमा बसे पनि झ्यालढोका नखोल्ने, अनावश्यक रूपमा बाहिर नहिँड्ने, बाहिर निस्कँदा कालो चस्माको प्रयोग गर्ने र छाताको सहयोगमा गर्मी छल्ने गरेको पाइएको छ।

नेपालगन्ज कोरनियपुरुवाका सन्तोष पन्थीले अत्यधिक गर्मीले हिँडडुलमा कठिनाइ महसुस भएको सुनाए। ‘तराईवासीले गर्मी छल्ने उपाय निकालिरहेका छन्,’ उनले भने, ‘गर्मीकै कारण दिउँसोको काम बिहान र बेलुकालाई साच्ने गरेका छौं।’ बिहानै उदाउने चर्को घामको राप र दिउँसो चल्ने तातो हावाका कारण जनजीवन अस्तव्यस्त बन्दै गएको हो। वैशाख पहिलो सातादेखि नै तापक्रमको पारो उकालो लागेकोे रेकर्डमा देखिन्छ। तापक्रम बढेपछि बालबालिका र वृद्ध प्रभावित भएको शिवगंगा सामुदायिक आँखा अस्पताल, बर्दियाका प्रमुख हरि केसीले बताए। ‘तातो हावा पस्ने त्रासले झ्याल लगाएर कार्यालयको काम गर्ने गरेको छु,’ उनले भने, ‘तातो हावा कोठामा पस्नेबित्तिकै आलस्यले सताउने हुनाले ‘लु’ (तातो हावा) छल्ने उपाय खोज्नुपरेको हो।’ उनका अनुसार अस्पतालमा आउने बिरामी धेरैजना आँखाको एलर्जीले ग्रसित छन्।

अत्यधिक गर्मीका कारण अधिकांश स्कुले विद्यार्थी प्रभावित भएका छन्। विद्यार्थीलाई मध्यनजर गरी अधिकांश सामुदायिक विद्यालयले बिहान विद्यालय सञ्चालन गरेका छन् भने दिउँसो सञ्चालन हुने निजी विद्यालयलाई तातो हावा छल्न ढोका लगाएर एकदुई घन्टा विद्यार्थी सुताएर अध्ययन गराइरहेका छन्। गर्मीका कारण भौतिक पूर्वाधार नभएका विद्यालयका विद्यार्थीलाई समस्या भइरहेको छत्रपाल मेवालाल प्राथमिक विद्यालय गुलरिया बर्दियाका प्रधानाध्यापक श्याम झाले बताए। ‘दिउँसो गर्मीमा विद्यार्थी पढ्न मन गर्देनन्,’ उनले भने, ‘सुताउँदै पढाउनु शिक्षकको बाध्यता हो। ‘लु’का कारण विद्यार्थीलाई आलस्यले सताउने हँुदा केही समय विद्यार्थीलाई आराम गराइन्छ,’ उनले भने। यस्तै तातो हावा चल्दा दिउँसै निद्रा, अल्छी लाग्ने हुनाले काम प्रभावित भएको सरकारी कर्मचारी बताउँछन्। ‘गर्मीकै कारण तुलनात्मक रूपमा सेवाग्राहीको संख्या घटेको छ,’ एक कर्मचारीले भने।

बिरामीको संख्या बढ्यो
चर्को गर्मीका कारण बिरामीको संख्या बढेको छ। गर्मीकै कारण अशक्त बिरामी बढेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेट सुवास पाण्डेले बताए। बिरामीको चाप बढेपछि २५ श­ड्ढयाको जिल्ला अस्पताल साँघुरो हुन थालेको छ। ओपिडीमा चेकजाँच गराउन आउने बिरामी घटे पनि समस्याग्रस्त बिरामी बढेको अस्पतालले जनाएको छ। एक साताअघिभन्दा बिरामीको संख्या अत्यधिक भएको अस्पतालको तथ्यांकमा देखिन्छ। गर्मीका कारण खासगरी झाडापखाला, बान्ता, ज्वरोका बिरामी बढेका छन्। उनका अनुसार सर्वसाधारणले झिंगा भन्केका, बासी खाना, दूषित पानीजस्ता कारणले यस्ता बिरामी बढेका हुन्। सफा पानी र चिसोजन्य पदार्थ गर्मीमा खानुपर्ने उनले सुझाए।

फलफूलको माग बढ्यो
फलफूल व्यवसायीका अनुसार खर्बुजा, काँक्रा, उखुको जुसको माग ह्वात्तै बढेको बताउँछन्। ‘दिउँसो हपहप गर्मी हुन्छ, सबैको माग खर्बुजाजस्ता प्यास मेटाउने खालका फलफुल खोज्छन्,’ गुलरियाका एक फलफूल व्यवसायीले भने, ‘एक साताअघिदेखि चिसो फलफूलको माग बढेकाले ग्राहकको माग थेग्न गाह्रो भएको छ।’

निकुञ्जको डढेलो नियन्त्रणबाहिर
तापक्रम बढेसँगै निकुञ्जमा चुरे क्षेत्रबाट सल्केको डढेलोले तराई घाँसे मैदानसम्म पुगेको छ। सुक्खा क्षेत्रमा डढेको प्रभाव नियन्त्रणभन्दा बाहिर पुगेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। ‘डढेलो नियन्त्रणमा लिन नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरेका छौं,’ उनले भने। डढेलो रोक्न निकुञ्जभित्र फायर लाइन बनाइएको उनको भनाइ छ। बाँके रष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने राजमार्गमा जंगलमा डढेलो लागेका कारण तुवाँलो बढेको देखिन्छ। तातो हावा र अत्यधिक गर्मीले असर मानिसलाई मात्र नदेखिएर निकुञ्जको वन्यजन्तु ज्यान बचाउन राजमार्गमा निस्कने हुनाले ट्राफिकमा समस्या उत्पन्न भएको छ। जंगलमा अत्यधिक गर्मी बढेपछि खोला खोज्दै जंगल बाहिर वन्यजन्तु देखिएको पर्यटन व्यवसायी रामजी थापाले बताए।

निकुञ्ज घुम्न आउने पर्यटकलाई वन्यजन्तु देखाउन रातदिन जंगलमा कुर्ने पर्यटन व्यवसायी जंगली जनावर बाहिर आउने थालेपछि खोलानजिकैबाट वन्यजन्तु देखाउन पाएका छन्। पाटे बाघको खोला छेउछाउमा देखिन थालेको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। ‘लजालु प्रवृत्तिका हुने पाटे बाघ दिउँसो घुमफिर कम गर्ने भए पनि गर्मी कारण खोला छेउछाउ पानी पिउन आउँदा देखिरहेका छन्,’ उनले भने। गर्मीले थेग्न नसकेर चिसो खोज्दै बाहिर निस्केको पाटे बाघ हेर्न यतिखेर निकुञ्ज मानिसको भीड लागेको छ। निकुञ्ज भ्रमण निस्कने पर्यटकले नांगो आँखाले पाटे बाघ पानीमा बसेको देखेको पर्यटकले सुनाए।

प्रकाशित: ३० वैशाख २०७६ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App