समाज

लागूऔषधमा संलग्न १७ आरोपी पक्राउ

प्रतिकात्मक तस्बिर

इलाम– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जना र प्रयोगकर्ता ११ लाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खोजी गर्दा जिल्लामा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सूर्याेदय नगरपालिका १० का २० वर्षे विशाल गुरुङ, सन्दकपुर गाउँपालिका ५ का २० वर्षे विक्रम गुरुङ, इलाम नगरपालिका ७ का ३२ वर्षे सृजन देवान, देउमाई नगरपालिका २ का २४ वर्षे सुभाष लिम्बू, पाँचथरको फिदिम नगरपालिका ४ का २२ वर्षे सुभाष लिम्बू र सप्तरीको खडक नगरपालिका १ घर भइ इलामको सूर्याेदय नगरपालिका १० का २४ वर्षे दीपेन मल्लिक छन्।

प्रहरीका अनुसार इलाम नगरपालिकाका विभिन्न स्थानमा खोजी गर्दा लागूऔषध प्रयोगकर्ता ११ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। ‘विशेष सूचनाका आधारमा लागूऔषधका अन्य कारोबारी र प्रयोगकर्ताको खोजी गरिरहेका छौं,’ जिल्ला प्रहरी प्रमुख एसपी माधव श्रेष्ठले भने, ‘पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी छ ।’

प्रकाशित: २२ वैशाख २०७६ १०:०७ आइतबार

लागूऔषध ब्राउन_सुगर पक्राउ