समाज

धुलाम्मे मन्थली, सास फेर्नै सकस

रामेछाप - बढ्दो गर्मीसँगै उड्ने धुलोले मन्थलीवासी आजित बनेका छन्। अत्यधिक धुलोका कारण महामारी फैलने स्थिति बन्दा पनि स्थानीय जनप्रतिनिधिमा भने कुनै चासो र चिन्ता देखिँदैन। सडकभरि धेलैधुलो, त्यसमाथि सवारीसाधनको अत्यधिक चाप र तीव्र गतिको हँकाइ, यतिबेला सदरमुकाम मन्थली बस्नयोग्य नभएको अनुभूति हुने गरेको सर्वसाधारण बताउँछन्। यस्तो अवस्थामा पनि मौन बसेको भन्दै सर्वसाधारणको आरोप खेपिरहेको नगरपालिका भने स्रोतसाधन र जनशक्ति नहुँदा समस्या निम्तिएको भन्दै पन्छिने गरेको छ।

मन्थलीको मुख्य बजारको सडक पक्की भए पनि अधिकांश शाखा सडक कच्ची छन्। सडकका अधिकांश नाला मानवनिर्मित संरचनाका कारण अवरुद्ध बनेका छन्। पानी पर्दा नाला हुँदै बग्नुपर्ने भल सडकमै पस्दा सडक हो कि नदी छुट्ट्याउनै मस्किल पर्ने गरेको छ। पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुने समस्याले मन्थली धेरै समयदेखि ग्रसित त छनै, दिनदिनै बढ्दै गएको जनसंख्या, अव्यवस्थित बसोबास र संरचनाको मार पनि त्यसैले भोग्नुपरेको छ। बजारमा बसोबास गर्नेहरू नै अनुशासित नबन्दा त्यस किसिमको समस्या निम्तिएको स्थानीय केशव दाहालले बताए। उनले भने, ‘मन्थलीवासीको अव्यवस्थित र आफूखुसी बसाइ र संरचना निर्माणका क्रममा निस्कने माटो सडकमै जाँदा पनि वास्ता नगर्ने प्रवृत्तिले गर्दा समस्या आएको हो।’ कतिपय अवसरमा सडक सफा गरिन्छ तर सफा गर्दा निस्कने माटो र फोहोर अन्यत्र लगेर नफाली सडकको छेउमै थुपार्ने गरिएकाले मन्थली धुलोमुक्त हुन नसकेको दाहालको भनाइ छ। जनप्रतिनिधिले त्यस्तो समस्या सजिलै समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै पनि कानमा तेल हालेर बस्नु दुर्भाग्य भएको उनको भनाइ छ।

यतिबेला मन्थलीको सडकमा एकातिर मात्र पैदल हिँड्न सकिने अवस्था छ। समस्या समाधान गर्न सम्बन्धित निकायमा पटकपटक ताकेता गर्दा पनि केही सीप नलागेको नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरे बताउँछन्। उनले मन्थलीको बेथितिको अवस्थालाई व्यंग्य गर्दै भने, ‘यतिबेला मन्थलीमा बस्नेलाई भन्दा घुम्नेलाई लाज लागेको छ।’ यसले गर्दा मन्थलीबारे गलत सन्देश गइरहेको उनको ठम्याइ छ। मन्थलीको धुलोको मारमा विद्यार्थीसमेत पर्ने गरेका छन। घरबाट निस्केदेखि विद्यालय नपुगुन्जेल धुलो खान बाध्य विद्यार्थीले कक्षाकोठामा समेत सफा भएर बस्न पाउँदैनन्। सडकबाट उडेको धुलो कक्षाकोठामा पस्ने हुँदा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ।

मन्थलीको सडकमा उड्ने धुलाले मानव स्वास्थ्य जोखिममा रहेको तामाकोसी सहकारी अस्पतालका निर्देशक सुमन कर्मचार्यले बताए। उनले मन्थलीको बजारमा व्यावसाय गरेर बस्नेले दिनहुँ खाने धुलोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको र धेरैमा दमको समस्या बढ्दै गएको कर्मचार्यको भनाइ छ। उनले धुलोकै कारण बिरामी भएर अस्पतालमा उपचार गराउन आउने धेरै भएको जानकारी दिए। मन्थलीको धुलोकै कारण पसल, व्यवसायलगायत कार्यालयहरू समेत प्रभावित बनेका छन्। सडकमा उड्ने धुलो घरभित्र पस्दा घरवाला र डेरावाला सबै वाक्कदिक्क बनिसकेका छन। ‘बिहान घरबाट निस्किएदेखि बेलुका घर नपुगुन्जेल धुलो खानुपर्छ, कोठमा पनि धुलोले उस्तै हालत बनाएको हुन्छ,’ मन्थली माविमा अध्ययनरत छात्र सागरजंग मगरले भने।

मन्थलीमा उडने धुलो व्यवस्थापन गर्न स्थानीयले दिनहुँ सडकमा पानी हाल्ने गरेका छन् तर त्यसबाट स्थायी समाधान सम्भव छैन। अत्यधिक गर्मीका कारण सडकमा छ्यापेको पानी हालेको क्षणभरमै सुक्ने र बुङबुङती धुलो उड्ने भइहाल्छ। जनप्रतिनिधि आएसँगै गठित टोल सुधार समितिहरू पनि यतिबेला सुस्त छन। कुनै बेला नगरपालिका टोल सुधारमा राम्रो काम गर्ने समितिलाई सम्मानसमेत गरिन्थ्यो। जति ताकेता गर्दा पनि समस्या समाधानको छाँट नदेखेपछि धुलो नियन्त्रणका लागि स्थानीयले चासोसमेत राख्न छाडेका छन्। मानव स्वास्थ्य र सरसफाइमा सरोकार राख्ने निकायहरूसमेत मन्थलीको प्रदूषणमा बोल्न सकेका छैनन्।

सडकमा उड्ने धुलोले सवारी दुर्घटनाको सम्भावना बढाएको छ। सदरमुकाम प्रवेश गर्ने सडकहरू भत्किएकाले हिलाम्मे बन्ने गरेको र त्यही हिलो सडक हँुदै गुड्ने सवारीसाधनका चक्कामा टाँसिएर आएका हिलो पिचमा छुट्दा हिलो सुकेसँगै धुलो आतंक फैलिने गरेको स्थानीय बताउँछन्। धुलो पनि यतिसम्म उड्छ कि एउटा गाडी गएपछि उड्ने धुलो नबसुन्जेल कुरेर बस्नु पर्ने स्थिति छ। दुईपांग्रे सवारी कुदाउन झनै कठिन छ।

मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले धुलो पन्छाउने र बजार सुन्दर हराभरा बनाउने मुख्य दायित्व नगरपालिकाको भए पनि स्रोत र साधनको अभावमा काम गर्न नसकिएको बताए। ‘कहिँलेकाहीं मात्र धुलोहिलो पन्छाएर मात्र नहुने भएकाले स्थायी रूपमा समस्या समाधानको उपाय खोजिरहेका छौं,’ उनले भने। सडक बनाउने नाममा मन्थली बजार प्रवेश गर्ने रन्जोर खोलाको पक्की पुलदेखि मदन भण्डारी चोकसम्मको सडक भत्काएर अस्तव्यस्त छाडिँदा धुलोले हैरानी निम्त्याएको उनको भनाइ छ। सडक परियोजना र सडक विभागको अत्तोपत्तो नहँुदा समस्या भएको नगर प्रमुख बस्नेतले बताए। बस्नेतले सडक सुधार हुन नसक्दा समस्या निम्तिएको बताए।

प्रकाशित: २२ वैशाख २०७६ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App