समाज

कटुवा पेस्तोलसहित भारतीय पक्राउ

लहान - सिरहाको भगवानपुर गाउँपालिका –४ ठाढीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला बगहा गाउँपञ्चायत–१ का २८ वर्षीय राजेशकुमार यादव छन्।

सीमावर्ती ठाढी स्थित बोर्डर आउटपोष्ट पश्चिम छेवैमा लहरै सञ्चालित मदिरा पसलमध्ये एक पसलबाट यादव पक्राउ परेका हुन। शंका लागेर प्रहरीले नियन्त्रणमा लिएर तलासी गर्दा यादवको कम्मरमा गम्छाले बाँधेको एक थान कटुवा र एक राउण्ड गोली बरामद भएकाे प्रहरीले जनाएकाे छ।

यादवलाई हात हतियार तथा खरखजाना मुद्दामा कारबाही चलाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए।

भारतको बिहार राज्यमा मदिरामा प्रतिबन्ध लागेपछि पारिबाट मदिरा सेवन गर्न ठाढीमा सञ्चालित मदिरालयमा आउनेहरुको लर्को हुन्छ। कतिपय मदिरा भट्टीमा पारिका मानिसले नै लगानी गरेको स्थानीयहरु बताउँछन्। मदिराको अनियन्त्रित कारोबारले यहाँका स्थानीयहरु असुरक्षित महसुस गरिरहेका का छन्।

हतियारसहित पक्राउ परेका यादव कुन उद्देश्यसाथ सीमावारि प्रवेश गरेका थिए? उनको पृष्ठभूमि कस्तो छ? यस विषयमा अनुसन्धान भैरहेको डिएसपी थापाले बताए। यादवलाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको उनले बताए।
 

प्रकाशित: २० वैशाख २०७६ ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App