समाज

प्रमुख र उपप्रमुखको विवाद उत्कर्षमा, विकास निर्माण प्रभावित

रौतहट – जिल्लाको विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुखको विवादको कारण विकास निर्माण नै प्रभावित भएको पाइएको छ। प्रमुखले उपप्रमुखको कार्य क्षेत्रमाथि हस्तक्षेप गर्ने र उपप्रमुखलाई नीति–निर्णयमा संलग्न नगराउने प्रवृत्तिका कारण विवाद देखिएको हो।

यमुनामाई गाउँपालिकाकी उपप्रमुख गीतादेवी साहले आफूलाई प्रमुख श्रीप्रसाद मुखियाले काम गर्न नदिएको आरोप बारम्बार लगाउँदै आएकी छन्। गत हप्ता उपप्रमुख साहले प्रमुख मुखियामाथि हातपात गर्दै अभद्र व्यवहार गर्न खोजेको आरोप पनि लगाएकी थिइन्।

गाउँपालिकाको कार्यालयमा आफैंले ताला लगाउने कामसमेत गरिन्। राजदेवी नगरपालिकाकी उपमेयर अंशु सिंह एउटा कार्यक्रममा भक्कानिँदै मेयर धीरेन्द्र यादवले एकलौटी ढंगले हैकमवाद चलाएको आरोप लगाइन्। मेयर आफैंले उपमेयरको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै काम गर्ने वातावरण नै नभएको सार्वजनिक रुपमै बताइन्।

ऐन कानुनले स्थानीय तहको प्रमुख र उपप्रमुखको अधिकारको किटान नै गरेको छ तर पनि प्रमुखले उपप्रमुखलाई बिल भर्पाइमा सही गर्ने व्यक्तिको रुपमा मात्र उपयोग गर्न खोजेको आरोप उपप्रमुखहरुले लगाउने गरेका छन्। कटहरिया नगरपालिकाको प्रमुख र उपप्रमुखबीचको विवाद उत्कर्षमा रहेको छ। नगरपालिकाको परिषद हुँदै गर्दा दुवैबीचको विवादको उत्कर्ष सार्वजनिक भएको थियो।

मेयर सियाराम कुशवाहाले एकलौटी ढंगले नियम मिचेर नगर परिषद गराएको विज्ञप्ति नै जारी गरिन् उपमेयर नूरजहाँ खातुनले। मेयर कुशवाहा जेलमा छँदा कार्यवाहक मेयरको रुपमा कार्यरत रहँदा उपमेयर खातुनले ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप मेयर पक्षका वडाध्यक्षले लगाएका थिए।

अहिले कटहरिया नगरपालिकाको विकास निर्माण सम्पूर्ण प्रायः ठप्प रहेको छ। चन्द्रपुर, फतुवा विजयपुर, माधव नारायण, देवाही गोनाही, बौद्धिमाई, गरुडालगायतका नगरपालिकाका प्रमुख र उपप्रमुखबीच मतभिन्नता बारम्बार सार्वजनिक हुने गरेको छ। 

विवादकै कारण फतुवा विजयपुर, बौद्धीमाई, देवाही गोनाही नगरपालिकाको नगर परिषद निकै ढिलो सम्पन्न भयो। गरुडा नगरपालिकाकी प्रमुख रंगिलादेवी जयसवाल र फतुवा विजयपुर नगरपालिकाकी प्रमुख कान्तिदेवी महतोले त पत्रकार सम्मेलन गरेरै असन्तुष्टि जाहेर गरेका थिए। दुवै उपमेयरले आफ्नो नगरपालिकामा भ्रष्टाचार व्यापक मात्रामा बढेको आरोप लगाउँदै सम्बन्धित निकायसँग छानबिनका लागि मागसमेत गरेका थिए।

केही वडाध्यक्ष र प्रशासकीय प्रमुखलाई मेयरले आफ्नो पक्षमा पारेपछि उपमेयरलाई पाखा लगाउँदै नियम मिचेर नै चल्ने गरेको पाइएको छ। उपमेयरहरुले पनि बढी भाग खोज्ने भएर विवाद बढ्ने गरेको देखिएको छ। मेयरहरुको हैकमवादी प्रवृत्तिले विकास निर्माणको काम प्रभावित भएको देखिएको छ।

जिल्लाका १८ स्थानीय तहमध्ये १७ वडामा पुरुष प्रमुख छन्। एउटा नगरपालिकामा महिला प्रमुख रहेका छन्। महिला प्रमुख रहेको मौलापुर नगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद रहेको अहिलेसम्म सार्वजनिक भएको छैन्। प्रमुख र उपप्रमुख दुवैजना नियमानुसार नचल्दा जिल्लाको विकासमा ठूलो क्षति भइरहेको मध्यरौतहट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमलाल साहले बताएका छन्।

प्रकाशित: १८ वैशाख २०७६ १४:१३ बुधबार

मेयर_उपमेयर_विवाद विकास_निर्माण स्थानीय_तह