समाज

ल्याप्टप चोर्दा २ वर्ष जेल, छुटेर अनामनगरमा फेरि ठूलो चोरी गर्न खोज्दा...

काठमाडौं– महानगरीय प्रहरीले काठमाडौंको अनामनगरबाट ६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। 

अनामनगरमा रहेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयको ढोका फोडेर दराज तोडफोड गरी सेफभित्र राखिएको ६ लाख रुपैयाँ चोरी गर्ने घरान घर भई अनामनगर बस्ने २३ वर्षीय कृतन राईलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले भाग्दै गरेको अवस्थामा स्थानीयको सहयोगमा पक्राउ गरेको हो। 

राईले मंगलबार अपराह्न ४ बजे अनामनगरस्थित लालबहादुर राईको घरको पहिलो तल्लामा ललितपुर पाटनका खगेन्द्र श्रेष्ठ लगायतले सञ्चालन गरेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा कोही नभएको मौका पारी ढोका फुटाएर भित्र प्रवेश गरी दराज तोडफोड गरेर सेफभित्र राखिएको ६ लाख रुपैयाँ चोरी गरेका थिए। चोरी गरेको पैसासहित झ्यालबाट हाम फालेर भाग्दै गरेको अवस्थामा स्थानीयको सहयोगमा सिंहदरबार वृत्तले पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनी यसअघि पनि चोरीमा संलग्न रहेको र मुद्दा समेत चलेको पाइएको छ। यसअघिको ल्याप्टप चोरेको मुद्दामा २ वर्ष कैद भुक्तान गरी १ महिना अघि मात्रै रिहा भएको पाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १८ वैशाख २०७६ १२:०८ बुधबार

चाेरी अनामनगर पक्राउ सगरमाथा_पोलुसन_कन्ट्रोल_कमिटी