समाज

हत्यारालाई कडा कारबाहीको माग गर्दै जिप्रका घेराउ

बनेपा–पत्नीलाई गुलेलीको रबरले घाँटीमा बाँधेर हत्या गर्ने पति र घटनामा संलग्न परिवारका सदस्यलाई कडा कारबाहीको माग गर्दै जिल्लास्थित विभिन्न महिला समूहले मंगलबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। मन्डनदेउपुर नगरपालिका–६, सिपाघाटकी २५ वर्षीया सरिता दाहाल दुलाललाई कर्तव्य गरी हत्या गरेको अभियोगमा समूहले उनकै २८ वर्षीय पति सुदीप दुलाललगायत परिवारका सदस्यलाई कडा कारबाहीको माग गरेका हुन्।

प्रहरीले मृतककी सासू ६० वर्षीया गंगा दुलाल, ससुरा ६३ वर्षीय पीताम्बर दुलाल, जेठाजु ३८ वर्षीय केशव दुलाल र जेठानी ३३ वर्षीया संगीता दुलाललाई शनिबार गिरफ्तार गरेको थियो। घटनालगत्तै फरार मृतकका पति सुदीपलाई लुकेर बसेको अवस्थामा शनिबारै प्रहरीले पक्राउ गरेको थियो।

‘प्रहरीले पक्राउ गरे पनि बहिनीका हत्याराहरूलाई कडा सजाय नहोला भनेर दबाबका लागि जनप्रतिनिधि र महिला समूहका सदस्यले स्वतःस्फूर्त धर्ना र प्रदर्शन गरेर न्यायका लागि सहयोग गर्नुभएको हो,’ मृतकका दाजु कृष्णप्रसाद दाहालले भने। आफ्नी बहिनीलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा दाहालले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।

सुदीपले पत्नीलाई रबरको गुलेलीले घाँटीमा बाँधी सरिताको हत्या गरेको बयान दिएको काभ्रे प्रहरीले बताएको छ।

प्रहरी नियन्त्रणमा रहेका सुदीपले पत्नीलाई रबरको गुलेलीले घाँटीमा बाँधेर हत्या गरेको बयान दिएको भनी काभ्रे प्रहरीले बताएको छ। सबै आरोपित एउटै कच्ची घरमा तीनतिर चुल्हो बनाएर बसेकाले सबैको मिलेमतोमा सरिताको हत्या गरिएको हुनसक्ने स्थानीयले आरोप लगाएका छन्। २०७२ वैशाख ९ गते मागी विवाह गरी सुदिपले सरितालाई भित्र्याएका थिए। विवाह दर्ता गरिदिने र नागरिकता बनाइदिने विषयमा परिवारसँग झैझगडा हुने गरेको कुरा घटना हुनुभन्दा अघि पटकपटक सरिताले छिमेकीसँग गुनासो गर्दै आएको स्थानीय सरस्वती सिंखडाले बताइन्।

कारबाहीको माग गर्दै प्रदेश ३ की सांसद गोमा भुर्तेल, मन्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबासहित विभिन्न तहका जनप्रतिनिधि र सयौं महिलाले सदरमुकाम धुलिखेलस्थित बसपार्कबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुस निकालेका थिए। मन्डनदेउपुर नगरपालिकाकी उपप्रमुख निर्मला शाही, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, बनेपा नगरपालिकाकी उपप्रमुख रेखा दाहाल, नेकपा जिल्ला अध्यक्ष रुकु चौलागाईं र अधिकारकर्मी भोजराज तिमल्सिनालगायतले धर्नाको नेतृत्व गरेका थिए।

काभ्रेका एसपी रविराज खड्काले अनुसन्धानका लागि अनुसन्धान मात्र नभई न्याय पनि दिलाउने प्रतिबद्धता व्यक्त गरे। ‘महिला हिंसाविरुद्ध प्रहरी कटिबद्ध छ,’ उनले भने, ‘सरिताको हत्याको विषयमा हामी धेरै नजिक पुगेका छौं, तपाईंहरू पनि साथ दिनुस्।’

प्रकाशित: १८ वैशाख २०७६ ०७:११ बुधबार

हत्या महिला_समूह जिल्ला_प्रहरी_कार्यालय सरिता_दाहाल