समाज

साकेलामा गरिब परिचयपत्र वितरण

गरिब परिचयपत्र वितरण कार्यक्रममा उपस्थित साकेला गाउँपालिका–४ मात्तिमका स्थानीय। तस्बिर सौजन्य : कुसुम आचार्य

खोटाङ – साकेला गाउँपालिकाले गरिब परिचयपत्र वितरण सुरु गरेको छ। गरिबीको रेखामुनि रहेका नागरिक लक्षित कार्यक्रम सञ्चालन गरी राज्यको स्रोत, साधन र क्षमताले भ्याएसम्म सामाजिक संरक्षण प्रदान गर्ने प्रयोजनका लागि साकेला गाउँपालिकाले बुधबारदेखि गरिब परिचयपत्र वितरण सुरु गरेको हो। साकेला गाउँपालिका–४, मात्तिमस्थित वडाकार्यालयबाट गरिब परिचयपत्र वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए।

मात्तिमका ७३ गरिब घर परिवारमध्ये अति गरिबको सूचीमा रहेका २० जनालाई रातो, मध्यम गरिबको सूचीमा रहेका १५ घरपरिवारलाई पहेंलो र सामान्य गरिबको सूचीमा रहेका २१ जनालाई निलो परिचयपत्र वितरण गरिएको छ। बिहीबार साकेला गाउँपालिका–५ का गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए। ५ वडा रहेका साकेला गाउँपालिकाका सबै गरिब परिवारलाई क्रमशः परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ। जिल्लामा सबैभन्दा पहिला २०७५ असार ३० गते रावाबेंसी गाउँपालिकाले गरिब घर परिवार परिचयपत्र वितरण सुरु गरेको थियो। तर, गरिबको सूचीमा धनीको नाम पाइएपछि रावाबेंसी गाउँपालिकाले परिचयपत्र वितरण बन्द गरेको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा अतिगरिब, मध्यम गरिब र सामान्य गरिब गरी ९ हजार दुई सय ५५ घरधुरीका ६५ हजार ६ सय १२ जनालाई परिचयपत्र वितरण तयारी गरिएको छ। जिल्लामा अतिगरिब घरधुरी ४ हजार चार सय ६९, मध्यम गरिब घरधुरी दुई हजार आठ सय २३ र सामान्य गरिब घरधुरी एक हजार नौ सय ६३ छन्। जनसंख्याका आधारमा जिल्लामा गरिब ३२ हजार आठ सय तीन, मध्यम गरिब १९ हजार ६ सय ८२ र सामान्य गरिब १३ हजार एक २७ जना रहेको जिल्ला समन्वय समिति गरिब घर परिवार सहयोग समन्वय बोर्डको सचिवालयले जनाएको छ। जिल्लामा गैरगरिब घर परिवार २९ हजार र गैरगरिबको जनसंख्या एक लाख ३६ हजार ५४ छ।

परिवारको आम्दानी, खर्च, घर कच्ची भए÷नभएको, शौचालय भए÷नभएको, खाना पकाउन प्रयोग गरिने इन्धन, विद्युत्, खानेपानीको उपभोगको अवस्था, पशु संख्या, भौगोलिक अवस्था, सेवा सुविधामा पहुँचलगायत सूचकका आधारमा जिल्लामा आर्थिक वर्ष २०६९÷०७० मा गरिब घर परिवार पहिचानको गरिएको जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङले बताए। गरिब घर परिवार सहयोग समन्वय बोर्डबाट २०७४ साल जेठ २१ गते स्वीकृत गरिब घर परिवारको अन्तिम सूचीलाई मन्त्रिपरिषद्को २०७४ साल साउन १२ गतेको बैठकले अन्तिम स्वीकृति प्रदान गरेपछि जिल्लामा परिचयपत्र वितरण सुरु गरिएको हो।

प्रकाशित: १३ वैशाख २०७६ ००:४५ शुक्रबार

साकेला_गाउँपालिका गरिब_परिचयपत्र