समाज

चिनियाँ सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन

सर्लाही– उत्तरी छिमेकी चीन सरकारको सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन भएको छ। प्रदेश नम्बर २ सरकारले चीनबाट अनुदान र ऋण सहयोगमा गाई ल्याउने निर्णय गरेका बेला बुधबार सदरमुकाम मलंगवामा युवाको समूहले चीनविरोधी नारासहित प्रदर्शन गरेका हुन्। 

जनजागृति युवा क्लबका अध्यक्ष सागर यादवको नेतृत्वमा युवाहरुले ‘गो ब्याक चाइना, विदेशी गाई चाहिँदैन, नेपाली कृषकमाथि खेलवाड गर्न पाइँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

चीनबाट गाई ल्याउन प्रदेश २, प्रदेश ३ र गण्डकी सरकारले यसअघि नै सम्झौता गरिसकेका छन्। सबैभन्दा पहिले प्रदेश ३ को सरकारले नेपाललाई दुधमा आत्म निर्भर बनाउन भन्दै चार हजार गाई चीनबाट ल्याउने सहमति गरेको थियो। 

चीनबाट गाई ल्याउने निर्णयको विरोधमा यसअघि प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा युवाहरुले ‘चाइना गो ब्याक’ नारा लगाएका थिए। चीनसँग मिलेर प्रदेश २ सरकारले कृषि परियोजना चलाउन लागेको भन्दै राजबिराजमा पनि यसअघि प्रदर्शन भएको छ।

स्थानीय युवा, विद्यार्थी, किसान र नागरिक समाजका अगुवाहरूले सोमबार चिनियाँ परियोजना संचालन नगर्न भन्दै प्रदर्शन गरेका थिए। उनीहरूले चीनको ऋण नलिन दबाबका लागि प्रदर्शन गरेको बताएका थिए।

प्रकाशित: ४ वैशाख २०७६ १३:०५ बुधबार

चीन गाई प्रदेश_२ प्रदर्शन