समाज

पञ्चेबाजा संरक्षण गर्न कार्यविधि

जुम्ला– समाज रूपान्तरणको प्रक्रियासँगै गाउँवस्तीमा आधुनिकताले प्रवेश पाए पनि जुम्लाको तातोपानी गाउँपालिकाले परम्परागत पञ्चेबाजा संरक्षणका लागि कार्यविधि नै बनाएको छ।

हिउँदे गाउँसभामार्फत कार्यविधि पारित गरेर पञ्चेबाजा संस्कृति संरक्षणको लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको हो। जुम्लाका एक नगरपालिकासहित आठवटै स्थानीय तहमध्ये तातोपानी एक विविध संस्कृतिले भरिपूर्ण स्थानीय तह भएका गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए।

‘परम्परादेखि चलिआएको चालचलन, रीतिरिवाज, रहनसहन र विभिन्न परम्पराहरु अहिलेसम्म प्रचलनमा छन्। जसमध्ये पञ्चेबाजा पनि एक हो’, उनले भने, ‘पञ्चेबाजा संरक्षणमा गाउँपालिकाले कार्यविधि बनाएर तदारुकता देखाउन थालेको हो।’

संस्कृतिमार्फत आफ्नो पेशा प्रवद्र्धन गराउन, परम्परागत संस्कृति बचाउँदै सामूहिक भावनाको विकास गराउन, संस्कृतिकर्मीलाई जिम्मेवार बनाउन र प्राचिन कालदेखि चलिआएको संस्कृतिको उत्थान गर्न कार्यविधि बनाएरअघि बढेको प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले जानकारी दिए।

कार्यविधिले यो गाउँपालिकामा बसोबास गर्ने दमाई जातिलाई समानुपातिक हिसावले कार्यक्रमको लाभ उपलब्ध गराउने र प्रत्येक वडामा सञ्चालक समिति गठन गरी पञ्चेबाजाको व्यवस्थापन गर्न लगाउने व्यवस्था गरेको छ। गाँउपालिकाले पञ्चेबाजाको संस्कृति ब्यवस्थापनका लागि वडागत संचालक समितिलाई पञ्चेबाजाको टोलीको लागि आवश्यक पर्ने पहिरन र नगद पनि उपलब्ध गराउने नीति लिएको छ।

‘दमाई जाति बसोबास गर्ने वडा पञ्चेबाजाका रूपमा जिल्लामा नै पहिचान गराउने, स्थानीय तहमा आफ्नो उत्कृष्ठता झल्काउन सक्षम बनाउने र पञ्चेबाजालाई प्रदेश र केन्द्रमा समेत चिनाउन सक्षम हुने गरी कार्यविधिले व्यवस्था गरेको छ’, प्रशासकीय अधिकृत चौलागाईले भने। 
प्रत्यक वडा सञ्चालक समिति ९ जनाको हुनेछ। पदाधिकारी वडाध्यक्षले तोके अनुसार गठन हुनेछ।

प्रकाशित: ४ वैशाख २०७६ ११:०९ बुधबार

पञ्चेबाजा संरक्षण