समाज

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै फर्काइदिए किसानले

धरान – अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै धरान उपमहानगर २० का विष्णुपादुका (कोकाहा)का किसानहरुले फिर्ता पठाइदिएका छन्। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत धरानमा रहेको अदुवा-बेसार जोन कार्यालयले किसानहरुलाई ८ क्विन्टल ४० किलो अदुवाको बीउ वितरण गरेको थियो। किसानको ५० प्रतिशत र बाँकी अनुदानमा ल्याइएको बीउ मंगलबार पकेट क्षेत्रका किसानलाई बाँडिएको थियो। 

कोकाहा बहुउद्देश्यीय कृषक समूहमा रहेका १० घर किसान उक्त परिमाणमा अदुवाको बीउ माग गरेका थिए। ‘जोन’ कार्यालयले वितरण गरेको उक्त बीउको आधा पैसा किसानले बुझाइसकेका थिए। तर, अहिले कुहिएको र कमसल खालको परेको भन्दै किसानहरु रुष्ट छन्। 

‘कामै नलाग्ने बीउ भएकोले बुधबार बिहानै धरानस्थित जोन कार्यालयमै फिर्ता पठाइदियौं’, कोकाहा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष मानसिंह तामाङले भने, ‘पछि पैसा फिर्ताको माग ग-यौं, तर रकम फिर्ताको साटो राम्रो बीउ पठाइदिने भनेका छन्।’ 

आफूहरुले वर्षौंदेखि अदुवा रोप्ने किसान भएको बताउँदै उनले थपे, ‘अदुवाको बीउ कस्तो हुन्छ हामीलाई थाहा छ, कामै नलाग्ने ससानो अदुवा पो पठाइदिए।’

यता अदुवा जोन कार्यालयका बागवानी विकास अधिकृत तिरप्रीत सिंहले भने राम्रो अदुवा पठाएको दाबी गरे। उनले भने, ‘रोप्न उपर्युक्त हुने खालको ६० ग्रामको सानो अदुवा पठाएका हौं।’ किसानहरुले सानैदेखि सिंगो आकारको अदुवा रोप्न बानी परेकाले जोन कार्यालयले पठाएको अदुवा मन नपराएको उनको भनाइ थियो।

उनले प्रस्ट्याउँदै भने, ‘प्राविधिक रुपमा हामीले पठाएको अदुवा ठीक छ, ६० ग्रामको अदुवा रोप्नु प्राविधिक रुपले ठीक हो, तर किसानहरु सिंगै रोप्ने भन्नुहुन्छ,’ उनले थपे, ‘अरु ठाउँमा पनि यस्तै अदुवा पठाइरहेका छौं, अदुवामा खराबी छैन।’
 यद्यपि उनले कोकाहामा किसानहरुले रोजेकै बीउ पठाइदिने आश्वासन दिएपछि किसानहरु फर्केर गएका बताए।

अदुवा जोन सञ्चालक समितिका अध्यक्ष सुदर्शन श्रेष्ठले पनि कुहिएको वा गुणस्तरहीन अदुवा नपठाएको दाबी गरे। जोन कार्यालयका कर्मचारीहरुलाई छानेर(ग्रेडिङ) गरेर मात्र बिउ अदुवा पठाउन भने पनि हतारिएर ग्रेडिङ नगरी पठाउँदा समस्या भएको श्रेष्ठले बताए। ‘छानेर मात्र पठाउन भनेका थियौं। कर्मचारीले हतारिएर त्यतिकै पठाइदिएछन्। अदुवामा समस्या छैन, कुहिएको वा गुणस्तरहीन भन्ने होइन,’ श्रेष्ठले भने। किसानले फिर्ता पठाइदिएको अदुवा बीउलाई अहिले ग्रेडिङ गर्ने काम भइरहेको उनले जानकारी दिए। 

जोन कार्यालयले अदुवाको बीउ प्रतिकिलो १ सय १० रुपैयाँका दरले हिसाब गरेर किसान समूहलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउदै आएको छ। यो वर्ष ५ हजार हेक्टर क्षेत्रफलमा अदुवा र बेसार खेती लगाउने जोन कार्यालयको लक्ष्य छ।

यसका लागि यो वर्ष अनुदानमा बीउ वितरण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जोन कार्यालयले जनाएको छ। अदुवा र बेसार रोप्न हाल किसानलाई बीउ वितरण भइरहेको छ। आगामी वैशाख दोस्रो सातासम्म बीउ वितरण हुने बागवानी विकास अधिकृत सिंहले बताए ।

प्रकाशित: २१ चैत्र २०७५ १४:२३ बिहीबार

अदुवा_बीउ गुणस्तरहीन प्रधानमन्त्री_कृषि_आधुनिकीकरण_परियोजना अनुदान