समाज

साप्सु पुलको काम नगर्ने ठेकेदारको प्रतिनिधि परिवर्तन

ठेकेदारको प्रतिनिधि परिवर्तन गरेर साप्सु खोला पुलको मात्तिमतर्फ पिलर ठड्याइँदै। तस्बिर : नागरिक

खोटाङ - म्याद गुज्रेको १५ महिना बित्दासमेत खोटाङको लफ्याङ र मात्तिम जोड्ने साप्सु पुल निर्माणको काम पूरा नभएपछि ठेकेदार कम्पनीको प्रतिनिधि परिवर्तन गरेर काम अघि बढाइएको छ।

२०७३ मंसिर २२ गते शिलान्यास गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोलाको पक्कनर्माणको काममा चरम ढिलासुस्ती भएपछि ठेकेदारको प्रतिनिधि परिवर्तन गरिएको हो। १८ महिनाभित्र पूरा गर्नेगरी २०७३ वैशाखमा गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले ठेक्का लिएको पुलको लफ्याङतर्फको पिलर ठड्याउन नै दुई वर्ष लागेपछि गाउँपालिका प्रमुख अर्जुन खड्काको दबाबमा पुरानो प्रतिनिधिका ठाउँमा नयाँ प्रतिनिधि राखेर बाँकी कामलाई तीव्रता दिइएको हो।

काम द्रुत गतिमा अघि बढाउन वा ठेक्का तोड्नका लागि चर्को दबाब परेपछि गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले प्रतिनिधि श्याम पोखरेलको ठाउँमा दोभान निर्माण सेवाका सुरज बस्नेतलाई प्रतिनिधिका रूपमा राखेर बाँकी कामको जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ। पेटी ठेक्का लिएको दोभान निर्माण सेवाले दुई हप्तामै पुलको मात्तिमतर्फको पिलर ठड्याउने काम सुरु गरिसकेको छ। असारसम्ममा काम पूरा गर्नेगरी पुल निर्माणको काम अघि बढाउन ठेकेदारलाई निर्देशन दिइएको गाउँपालिका प्रमुख खड्काले बताए। ‘हामीले पटक–पटक दबाब दिएपछि निर्माण कम्पनीले प्रतिनिधि परिवर्तन गरेको हो,’ खड्काले भने, ‘नयाँ प्रतिनिधिलाई असारसम्ममा पुलको काम सक्नेगरी काम गर्न भनेका छौँ। कामको गति पनि सन्तोषजनक देखिएको छ।’ असारसम्ममा पुलको काम नसकिए सवारीसाधन आवत–जावत नभएर गाउँपालिकामा ‘नाकाबन्दी’ लाग्ने अवस्था बन्ने भएकाले पुल निर्माणको काम जुनसुकै हालतमा पूरा गर्न भनिएको खड्काले बताए।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दुई करोड ३० लाख ३६ हजारको लागतमा पूरा गर्नेगरी ठेक्का लागेको पुलको म्याद २०७४ साल कात्तिकमै सकिएको हो। पुल शिलान्यासका क्रममा ठेकेदारका प्रतिनिधि पोखरेलले सात महिनामै पुल निर्माणको काम पूरा गर्ने बताएका थिए। तर, शिलान्यास भएको म्याद नाघेको १५ महिना बिते पनि पुल निर्माणको कामले अपेक्षित गति लिन सकेको थिएन।

पुल निर्माणको काम अलपत्र भएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गत कात्तिक ५ गते ठेकेदार कम्पनी गजुरमुखी जेभीलाई कालोसूचीमा राख्न गृहमन्त्रीसमक्ष लिखित माग गरेका थिए। पुल निर्माणको काममा चरम ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि गजुरमुखी जेभीको नाम कामचोर ठेकेदारको सूचीमा समावेश गरी गृहमन्त्रालय पठाएको थियो। निर्माणको जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई कारबाही नगरे मुलुकलाई समृद्ध बनाउने सपना चकनाचुर हुने अवस्था भएकाले कारबाहीका लागि गृहमन्त्रीसमक्ष लिखित माग राखिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए। सो पुलको शिलान्यास भट्टराईले नै गरेका थिए।साप्सु खोला पुल जिल्ला गौरवको योजना हो। बेलायत सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (-याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा उपयोगविहीन बनेको छ।

प्रकाशित: १८ चैत्र २०७५ ०१:५० सोमबार

साप्सु_पुल ढिलासुस्ती ठेकेदार प्रतिनिधि