समाज

मासु बेचेरै चल्दै छ जिन्दगी

मासुपसल अगाडि दुई जना चेसमा घोप्टिरहेछन्। चेसको ‘ब्ल्याक एण्ड ह्वाइट’ बोर्डमा १० वटा गोटी बाँकी छन्। राजा, मन्त्री, घोडा, प्युसो यस्तै–यस्तै। 

गोटी सार्ने पालो राम दाइको छ। 

राम शाही सोचमग्न देखिन्छन्। कुन गोटी चाल्ने? उनले मेसो पाइरहेका छैनन्। ‘रामदाइ, आधा किलो मासु दिनु त,’ एक अधवैंशे महिला त्यही वेला उनको कानैमा कराउन आइपुग्छिन्।

रामदाइ विस्तार उठेर पसलभित्र छिर्छन्। ठूलो कुखुराको फिला काटेर इलेक्ट्रिक तराजुमा राख्छन्। तराजुको रातो नम्बर एकछिनसम्म झिमिक–भिमिक गर्छ र स्थिर हुन्छ। पाँच सय ग्रामबाट अलिकति उकालो लाग्छ। उनी मासुको पिस तयार पारिदिन्छन्। 

महिला घर लाग्छिन्। रामदाइ फेरि चेसमै व्यस्त हुन्छन्। 

बुद्धनगरस्थित रामदाइको मासु पसलमा सोमबार दिउँसो २ बजे पुग्दाको दृश्य हो यो। 

‘दिउँसो यस्तै हो। आक्कलझुक्कल मान्छे आउँछन्। मासु खासै बिक्दैन। चेस खेलेर दिन बित्छ’, रामदाइ भन्छन्, ‘बिहान बेलुकाचाहिँ भ्याइनभ्याइ हुन्छ।’ 

 

जडीबुटी बस्दै आएका उनी बिहान चारै बजे पसल खोल्न आइपुग्छन्। मासु पसल चलाउन कहाँ सजिलो छ र? पानी तताउनु पर्याे। खसी काट्नुपर्‍यो। भुत्ल्याउनु पर्‍यो। आन्द्राभुँडी छुट्याउनुपर्याे, टुक्राउनु पर्‍यो।  

‘वेलैमा तयार पारेन भने मान्छे अरू पसलमा जान्छन्,’ उनी भन्छन्, ‘पहिले पो पसल कम हुन्थ्यो र कुरेर भए पनि लान्थे। अचेल चोकैपिच्छे मासु पसल छन्। अलिकति ढिलो भयो कि ग्राहक अन्त गइहाल्छन्।’  

२५ वर्षअघि उनले यो ठाउँमा मासु पसल खोल्दा वरिपरि फ्रेस हाउस नै देखिन्नथे। टाढाटाढाका मान्छेले उनकै पसलबाट मासु लैजान्थे। बस्ती बढेसँगै मासु पसल पनि बढे। 

‘२०५० सालमा पसल खोले पनि पहिल्यैदेखि मैले मासुकै व्यापार गर्थें,’ विगत कोट्याउँछन् उनी। उनको पुस्तैनी पेसा हो मासु व्यापार। उनका बाले पनि मासुकै कारोबार गरे। हजुरबाले पनि मासु नै बचेको उनले सुनेका थिए। ‘त्यसभन्दा अघिकाले पनि मासु नै बेचे होलान्। नभए हाम्रा बा, हजुरबाले कसरी सिक्थे?’ उनी अनुमान लाउँछन्। 

जान्ने भएदेखि मासु बेच्ने काम गरे उनले। मासु बेचेरै परिवार पाले। छोराछोरी पढाए। उमेरले ६ दशक भेट्न लाग्दा पनि रिटार्यड हुन तयार छैनन् उनी। 

उनका बा बस्तुभाउको होलसेल व्यापार गर्थे। राँगा काटेर बेच्थे। त्यही व्यापार/व्यवसायले उनको नौ जना परिवार पालिन्थ्यो। बूढाबूढी, ४ छोरी र ३ छोरा। उनका बा बस्तुभाउ किन्न गृहनगर बनेपादेखि पाँचखालका टाढा टाढा गाउँसम्म पुग्थे। ९/१० वर्षको उमेरदेखि नै रामदाइ पनि बासँगै हिँड्न थालेका थिए। बाउछोरा मिलेर राँगा, खसी, बोका, कुखुरा किनेर ल्याउँथे। हलुको हुने भएकाले उनी कखुरा बोकाइमा पर्थे। खसी, राँगा बाले नै डोहोर्‍याउँथे। असिनपसिन हुँदै कुखुरा बोकेर घर आएको उनलाई अहिले पनि सम्झना छ।

व्यापार गर्न जाँदा बाले बाटोमा मिठाई, चकलेट किनिदिन्थे। उनी मक्ख पर्थे। त्यसैले अघिपछि जहाँ हिँड्दा पनि उनी बा छाड्दैन थे।रामदाइ १४ वर्ष लाग्दै थिए। उनका बा बिते।बा बितेपछि पशुको होलसेल व्यापार रोकियो। कलिलै भएकाले रामदाइ एक्लै गाउँ–गाउँ पुगेर राँगा, खसी किनेर बेच्ने सम्भावना थिएन। 

‘बनेपा अहिलेजस्तो सहर बनिसकेको थिएन। जंगल थियो। दिउँसै पनि शून्य हुन्थ्यो। खसीबोका किन्न टाढाटाढा पुग्नुपथ्र्याे। पैसा बोकेर एक्लै हिँड्न डर मर्नुहुन्थ्यो। म फुच्चेलाई व्यापारको आइडिया पनि थिएन’, उनी भन्छन्।  उनका दाइहरुचाहिँ तराई झरेर मासु व्यापारमा लागेका थिए। ‘परिवार ठूलो थियो, एउटा मात्र काम गरेर पालिन गाह्रो। त्यसैले दाजुहरू तराई झर्नुभयो। उदयपुर कटारीतिर गएर मासुपसल खोल्नुभएको थियो,’ उनी सम्झिन्छन्।  

पछिपछि काम नगरि भएन । उनकी आमाले पनि ‘काम गर, काम गर’ भन्न थालिन्। त्यसपछि साथीहरूसँग मिलेर खसी–बोकाकै होलसेल व्यापार गर्न थाले। बाजस्तै उनी पनि टाढा–टाढा पुगे बस्तु किन्न। बनेपाको दूर–दूर गाउँसम्म पुगे। एकपटक गाउँ डुलेर आउँदा १५÷२० रुपैयाँ उनको गोजीमा उब्रिन्थ्यो। त्यो पैसा आमालाई दिन्थे।

होलसेल व्यापार मात्रै गरेर खासै नाफा भएन। राम्रै आम्दानी होला भन्ने आसले २०५० सालमा उनी काठमाडौं आए। खसी, कुखुरा काटेर मासु बेच्न थाले। ‘त्यतिवेला ३५ रुपैयाँ किलो कुखुरा पाइन्थ्यो। काटेर बेच्दा ६५/७० रुपैयाँसम्म पथ्र्यो,’ उनी अहिलेको भाउसँग दाँज्छन्, ‘हिँजोआज त मासुको दाम पनि अकाशियो।’ खसी नै उनले १ सय २५ रुपैयाँ किलो बेच्थे, त्यसवेला। अहिले हजार नाघ्यो।

दिनमा एउटा खसी बिक्छ, हिजोआज। २० वटा कुखुरासम्म काट्छन्। बेलुका ८ बजेसम्म बस्दा बिहान, दिउँसो काटेको कुखुरा/खसी सबै सकिन्छ। कहिलेकाहीँ अलिअलि उब्रिन्छ, घर लगेर थरीथरीका परिकार बनाएर खान्छन् उनी। भन्छन्, ‘जाडोमा त ३०÷३५ वटा कुखुरा काट्दा पनि पुग्दैन।’ 

हिजोआज बर्डफ्लुको समाचार आइरहेकाले कमै मात्रामा मासु बिक्न थालेको छ। उनले पनि कमै कुखुरा किन्छन्। ‘धेरै ल्याएर के गर्नु, बिक्दैन। यहाँ ल्याएर पाल्न पनि त सकिँदैन नि,’ उनी गुनासो पोख्छन्, ‘ल्याएपछि दाना चाहियो, घाँस चाहियो। मकैको खोस्टा चाहियो। यो सबै झन्झट गर्नुभन्दा थोरै ल्यायो, थारै बेच्यो, ढुक्क।’

धेरै ग्राहक आए उनलाई भ्याइनभ्याइ नै हुने गर्छ। एक्लो ज्यानले सबै धानेका छन्। ५७ वर्ष लागिसके। शरीर शिथिल हुँदै गयो, ‘युरिक एसिड’ पनि सहेकै छन्। घुँडा दुखेर गाह्रो मानेर हिँड्छन्। रोगको कहानी सुनाउँछन्, ‘बेलुका भएपछि खुब ज्यान दुख्छ। ढाड दुख्छ। हात कटकटी खान्छ। धेरै चलमल गर्नै सकिँदैन।’

छोराहरुले त काम छोड्न भनिरहेका छन्, उनलाई। माने पो। ‘बिहान, बेलुका अलिअलि काम हो। दिनभरि बस्ने त हो’, भनेर टारिरहेका छन्। कहिलेकाहीँ चाहिँ अत्यधिक ज्यान दुख्दा मासु काट्न छाडिदिउँजस्तो लाग्छ उनलाई। अहिल्यैदेखि काम गर्न छाड्दा झनै रोगले सताउला कि भन्ने डर छ फेरि उनलाई। भन्छन्, ‘अरू काम गर्ने सीप छैन। जानेकै यही खसी काट्न हो, यही कामले परिवार पालें, छोराछोरी हुर्काएँ, कसरी पसल छाड्न सक्छु र? भर–अभरमा साथ दिएको पेसा झट्टै छोड्न मन नलाग्दोरै’छ।’ 

कहिल्यै स्कुल जान पाएनन् रामदाइ। बुवाको कमाइले ९ जनाको परिवार पाल्दै ठिक हुन्थ्यो। आम्दानीको स्रोत केही थिएन। मुख जोर्नै समस्या भइरहेका वेला, कताको पढाइ। ‘स्कुल जान पाएको भए त, किन मासु बेचेर बस्थेँ,’ उनी पढ्न नपाउनुको दुखेसो पोख्छन्। आफ्नो यही विगत सम्झिएर रामदाइले छोराछोरी पढाए। उनको कान्छो छोरो अहिले जापान छन्, जेठो छोरो नेपालमै डिग्री पढ्दै छन्। एउटी छोरीको विवाह भइसक्यो।     

०००
चेस खेल्दाखेल्दै रामदाइको पसलमा अर्काे एक ग्राहक आइसकेका छन्। रामदाइ घुँडामा हात राख्दै गह्रौँसँग उठ्छन्।
अरूलाई मासु बेच्ने रामदाइ आफैचाहिँ कत्तिको मासु खान्छन्? 

‘हा. हा.. हा...। कुखुराको त दैनिक खाइन्छ हौ। खसी, हप्ताको २ पटकसम्म खाने गरेको छु,’ उनी भन्छन्। 

प्रकाशित: १६ चैत्र २०७५ ११:१३ शनिबार

रामदाइ मासु मासु_पसल कुखुरा