समाज

आठ महिनामा दुई सय ३७ मुद्दा फस्र्योट

नुवाकोट - नयाँ र पुराना गरी पाँच सय मुद्दा रहेको नुवाकोट जिल्ला अदालतले फागुन मसान्तसम्ममा दुई सय ३७ वटा मुद्दा फस्र्योट गरेको छ। सो अदालतमा आर्थिक वर्ष सुरु हँुदा दुई सय ४९ मुद्दा फस्र्योट हुन बाँकी थिए भने फागुन मसान्तसम्ममा तीन सय आटवटा नयाँ मुद्दा थपिएका थिए।

फस्र्योट हुन बाँकी रहेका तीन सय २० मुद्दामध्ये ६ महिनाभित्रको एक सय ७६, एक वर्षसम्मको एक सय एक, १८ महिना सम्मको ३३, दुई वर्षसम्मको पाँच र दुई वर्षअघि दर्ता भएका पाँचवटा मुद्दा फैसलाको प्रक्रियामा रहेको जिल्ला अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जाराले बताए। ‘अदालतमा अहिले देवानी प्रकृतिका एक सय ९३, फौजदारी अभियोग लागेका ३७, सरकारवादी ८५, पुनरावेदन परेर आएका चार र रिट निषेधाज्ञा एक गरी दुई सय बीस वटा मुद्दा फैसला हुन बाँकी रहेको छ,’ वञ्जराले भने, ‘आर्थिक वर्षको आठ महिनामा हामीले ९१.५० प्रतिशत मुद्दाको किनारा लगाउन सफल भएका छौं।’

मुलुकी देवानी (संहिता) ऐन २०७४ लागु भएपछि जिल्ला अदालतमा एक सय तीन वटा सम्बन्ध–विच्छेदको मुद्दा दर्ता भएका थिए, जसमध्ये महिला वादी भएका ६७ र पुरुष वादी भएका ३६ मुद्दा रहेका छन्। पुरुष वादी भएका तीन र महिला वादी भएका ३८ वटा सम्बन्ध–विच्छेदका मुद्दा फैसला भइसकेको स्रेष्तेदार बञ्जराले बताए।

यसैबीच अदातलमा दर्ता भएका मुद्दाहरू कार्यतालिकाको आधारमा फैसला गर्ने गरिएको जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले बताएका छन्। ‘कार्यतालिकामा परेका कार्यहरू बाहिरी रूपमा नभई इजलासमा नै उपस्थित भएर काम गर्दै आएका छौं,’ न्यायाधीश ऋषिकेश वाग्लेले भने, ‘अदालत नागरिककै भएकाले यसको गतिविधिबारे सबैले खुला रूपमा जानकारी लिन र जिज्ञासा राख्न सक्छन्। कुनै रोकटोक छैन।’

प्रकाशित: १४ चैत्र २०७५ ०३:०५ बिहीबार

जिल्ला_अदालत मुद्दा