समाज

सार्वजनिक यातायातको मनलाग्दीविरुद्ध यात्रु

फाइल तस्बिर

काठमाडाैं- केही यातायात व्यवसायीले आफूखुशी सार्वजनिक यातायातको भाडा लिने गरेको तर सरोकारवाला सरकारी निकायले अनुगमन नगरेको भन्दै यात्रु स्वयं कारवाहीमा उत्रन थालेका छन्। 

राजधानीमा सञ्चालित बाबा गोकर्णेश्वर, सिटी यातायात र सुन्दरीमाई यातायात कम्पनीमा दर्ता भएका सार्वजनिक यातायातका परिचालकले यातायात व्यवस्था विभागले गत असोज ७ गते तोकेभन्दा बढी भाडा लिन थालेका थिए। बढी भाडा लिने सवारीलाई विभाग एवं सम्बन्धित नगरपालिकाका अनुगमन समितिले अनुगमन नगरेपछि यात्रु स्वयं कारवाहीमा उत्रन थालेका हुन्। 

यस्तै दृश्य आइतबार बेलुकी रत्नपार्क–सुन्दरीजल मार्गमा चल्ने बा३ख २६८७ नंको सार्वजनिक यातायातमा देखियो। बसका परिचालकले फागुन ७ गतेदेखि भाडा बढेर सुन्दरीजल–रत्नपार्कको रु ३० पुगेको, बेलुकी ८ बजेपछि विद्यार्थी, वृद्धवृद्धा लगायतलाई राज्यले दिएको सहुलियत दिन सकिँदैन भनेपछि यात्रुले यस्तो हुन सक्दैन भनी सम्झाउन खोजेका थिए। असोजपछि विभागले भाडा बढाएको छैन भन्दा हाम्रो समितिले बढाएको हो भनी परिचालक यात्रुसँग कड्किएको यात्रु नरेश तामाङले जानकारी दिए। 

परिचालकले यात्रुमाथि रिस पोखेपछि यात्रुले पनि प्रतिकार गरेका थिए। स्थानीय तहमा दर्ता भएका यातायात कम्पनीको अनुगमन नगरपालिकाले नै गर्नसक्ने भए पनि यी यातायात चल्ने गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र दक्षिणकाली नगरपालिकाले अनुगमन नगरेको यात्रुको गुनासो छ। 

बाबा गोकर्णेश्वर यातायातले पत्रकारलाई सिटको व्यवस्था गरेर प्रभावित बनाई यात्रुसँग बढी भाडा लिएको उपभोक्ताको गुनासो छ। यी यातायातका परिचालकले हामीले बढी भाडा लिए पनि कसैले केही गर्न सक्दैनौँ, सबैतिर मिलाएका छौँ भनी जवाफ दिने गरेको साँखुकी लक्ष्मी श्रेष्ठको गुनासो छ। साँखु–रत्नपार्क–दक्षिणकालीसम्म चल्ने बाबा गोकर्णेश्वरले यसै मार्गमा सञ्चालन हुने अरू सवारीभन्दा रु १० सम्म बढी भाडा लिने गरेको छ। 

यी यातायातले दिनभर सुन्दरीजल, साँखु र दक्षिणकाली सवारी चलाए पनि बेलुकी भने आठदेखि १० किमी तलसम्म मात्र यात्रु ओराल्ने गरेका छन्। केही दिन रत्नपार्कबाट सुन्दरीजलसम्म चल्ने बा२ख ६८०५ नंको सवारीले जोरपाटीमै यात्रु झारेर ग्यारेजमा थन्कियो। अरू सवारी पनि नपाएपछि हिँडेर जान बाध्य हुनु परेको शेखर शर्माको गुनासो छ। 

दिनभर माथिसम्म चल्ने सवारी बेलुकी तलै यात्रु झारेको बारेमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नंमा फोन गरेर जानकारी गराए पनि कारवाही नभएको उनले बताए। विभागको वेबसाइटमा सार्वजनिक यातायातमा भएको अनियमितताको गुनासो गर्न दिइएको नंमा १०३ पनि छ। यस सम्बन्धमा विभागका प्रवक्तालगायत अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन्। रासस

प्रकाशित: ११ चैत्र २०७५ १२:५१ सोमबार

सार्वजनिक_यातायात भाडा अनुगमन यात्रु कारवाही