समाज

१८ पुलमध्ये चारको मात्र निर्माण सम्झौता

नारायणगढ–मुग्लिन सडक–खण्डमा निर्माण हुँदै गरेको जलविरे पुल। तस्बिर : सविता/नागरिक

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने १८ मध्ये चारवटा पुलको मात्र निर्माण सम्झौता भएर काम अघि बढेको छ। सडकखण्डमा पर्ने दासढुंगा, खानी, मौरी र जलबिरे पुलको मात्र निमार्ण कार्य भइरहेको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार निर्माण थालिएका चार वटै पुलको काम ५६ प्रतिशत सकिएको छ। चारमध्ये तीन पुलको निर्माण कार्य यही आर्थिक वर्षभित्र सम्पन्न हुनेछ। ‘दासढुंगा र मौरी पुलमा गाडी हिँड्ने स्ल्याब ढलानको काम सकिएको छ,’ उनले भने, ‘बाँकी दुईमध्ये खानी पुल ढलानको काम चैत महिनाभित्र सकिन्छ।’

सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक कम्पनीले सडक विस्तारको काम गरेका थिए। सडक निर्माणको जिम्मा पाएका दुई निर्माण कम्पनीले नै २१ महिनाभित्र सम्पन्न गर्ने गरी चारवटा पुल निर्माणको जिम्मा पाएका थिए। दासढुंगा, मौरी, खानी पुल निर्माणको काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ। २ अगस्ट २०१९ सम्म सक्नेगरी निर्माण सम्झौता गरिएका ती तीनवटा पुलको लागत १३ करोड ६५ लाख रुपैयाँ रहेको छ। यस्तै ८० मिटर लामो जलबिरे पुल निर्माणको जिम्मा सुप्रिम–रौताहा जेभीलाई दिइएको छ। १३ करोड ९५ लाख रुपैयाँ लागतमा बन्ने पुल २२ जुलाई २०१९ सम्म सम्पन्न गर्नेगरी निर्माण सम्झौता गरिएको छ।

सडक विस्तार भएको दुई वर्षभित्र सडकखण्डमा १८ वटा पुल नयाँ बनाउने भनिए पनि १४ वटाको सम्झौता अझै हुन सकेको छैन।

सूचना अधिकारी खनालका अनुसार तीन पुलको निर्माण कार्य समयमा नै सकिने भए पनि जलबिरे पुल अरू पुलहरूको तुलनामा लामो भएकाले निर्माण सम्पन्न हुन थप समय लाग्नेछ। सडक विस्तार भएको दुई वर्षभित्र सडकखण्डमा सबै पुल बनाउने भनिए पनि १४ वटा पुल निर्माणको सम्झौता अझै हुन सकेको छैन।

सूचना निकाल्ने तयारी

सडकखण्डमा पर्ने १८ मध्ये १४ पुलको निर्माण सम्झौता अघि बढाउने तयारी भइरहेको सडक विभागको पुल महाशाखा प्रमुख दीपक भट्टराई बताउँछन्। ठेक्का पाउनेले पेस गरेको डिजाइन स्वीकृत भइसके पनि निर्माण प्रक्रियाअनुसार काम अघि बढिरहेको उनले बताए। ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामा काम गर्दा सुरुमा नै ठेक्का सम्झौता गरिन्छ। ‘यसअघि निर्माण प्रक्रियामा अपनाइने परम्परागत प्रक्रियाभन्दा फरक रूपमा निर्माण गर्न लागिएको छ,’ भट्टराईले भने, ‘यो आर्थिक वर्षभित्र ठेक्का लगाउने योजनाअनुसार प्रक्रिया अघि बढिरहेको छ।’

सडकखण्डमा विस्तार गर्न बाँकी रहेका १४ पुलमध्ये केही पुल विस्तारको काम गर्न केही अप्ठेरो र कठिनाइसमेत रहेको भट्टराईले बताए। उनका अनुसार साँघुरो ठाउँ भएकाले निर्माणको काम गर्ने स्थान पुग्दैन। पुरानो पुललाई कायम राखेर छेउमा नयाँ पुल बनाउने ठाउँ पनि छैन। सवारीसाधन रोकेर काम गर्न पनि नमिल्ने सडकखण्ड भएकाले पुल निर्माणको काम चुनौतीपूर्ण रहेको छ।

‘कस्तो डिजाइन बनाउने र कसरी काम गर्दा चाँडो र राम्रो हुन्छ’ भनेर काम गर्न खोजिरहेको पुल महाशाखा प्रमुख भट्टराईको भनाइ छ। सकेसम्म चाँडै सूचना निकाल्ने गरेर काम अघि बढाइएको उनले बताए। गोरखा–नारायणगढ सडकका रूपमा चीन सरकारको सहयोगमा २०३६ सालमा नारायणगढ–मुग्लिन सडक बनाइएको थियो। त्यस समय बनाइएका सबै पुल ६ मिटर चौडाइका रहेका छन्। साँघुरो पुलमा एकैपटक दोहोरो सवारीसाधन वारपार गर्न गाह्रो हुन्छ।

सडक विस्तारको काम सुरु गर्दा सडकसँगै पुल निर्माणको कामलाई नराखिँदा छुट्टाछुट्टै सम्झौता गरेर पुल निर्माण गर्नुपर्ने अवस्था बनेको आयोजनाका सूचना अधिकारी इन्जिनियर खनाल बताउँछन्। बाटोसँगै पुल विस्तारको काम नहुँदा बाटो ठूलो र पुल साँघुरो भएपछि दुर्घटनाको जोखिम बढेको छ। दुर्घटना नहोस् भन्ने हेतुले सवारीसाधनको तीव्र गतिलाई रोक्न आयोजनाले पुलनजिक अस्फाल कंक्रिटको रुम्बल स्ट्रिप निर्माण गरेको छ।

प्रकाशित: १० चैत्र २०७५ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App