समाज

होली पर्वका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

फाइल फाेटाे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्। 

फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्लेख गरेका छन्। ‘देशलाई द्रुत गतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढी एकताबद्ध हुन जरुरी छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ। 

‘नेपालभरि र बाहिर पनि खुशियाली प्रकट गर्दै होली अर्थात् पानी र रंग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एक पटक हाम्रो राष्ट्रिय संकल्पको स्मरण गर्न चाहन्छु,’ उनलेसन्देशमा उल्लेख गरेका छन्। 

भाषिक, सांस्कृतिक र जातीय विविधतामा एकता सारा विश्वले थाहा पाएको नेपाली विशेषता भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। उनको सन्देशमा भनिएको छ, ‘फागु पूर्णिमाले विभिन्न मातृभाषाका विविध संस्कृति अंगीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीबीचको सद्भाव र सुसम्बन्ध अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’

प्रकाशित: ६ चैत्र २०७५ ००:४५ बुधबार

केपी_शर्मा_ओली होली शुभकामना