समाज

रौतहटको छुटाछुटै गाउँमा आगलागी, लाखौको धनमाल क्षति

रौतहट– रौतहटको छुट्टाछुट्टै स्थानमा मंगलबार भएको आगलागीमा लाखौको धनमाल जलेर खरानी भएको छ। जिल्लाको वृन्दावन र गौर नगरपालिकामा भएको आगलागीमा लाखौको धनमाल जलेर पूर्ण रुपमा खरानी भएको हो।

बृन्दावन नगरपालिका वडा नम्बर ४ सखुअवामा स्थित पुष्पाञ्जली पोल्ट्री फर्ममा अचानक आगो लाग्दा करिब १३ लाख भन्दा बढीको तयारी कुखुरा र पाल्नको लागि राखेको चल्ला नष्ट भएको छ। स्थानीय जयनारायण साहले सञ्चालन गरेको पोल्ट्री फर्ममा सोमबार राति १२.४५ बजेको समयमा विद्युत सर्ट भएर आगलागी हुँदा २/३ केजीको तयारी कुखुरा २ हजार थान, १५ सय चल्ला गरी घर समेत पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको पीडित साहले बताएका छन्। 

नजिकिँदै गरेको होली पर्वमा विक्रीका लागि तयारी अवस्थामा राखिएको कुखुरा र चल्ला विद्युत सर्ट भएर आगो लाग्दा स्थानीय बासिन्दा र चन्द्रपुर नगरपालिकाको बारुण यन्त्रको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

यस्तै, गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलमा मंगलबार साँझ खाना पकाउने चुल्होबाट सल्केको आगोले लाखौको धनमाल पशु चौपाया जलेर खरानी भएको छ। स्थानीय प्रभु प्रसाद पटेलको चुल्होबाट सल्केको आगो छिमेकी रामबाबु साहको घरमा समेत लागेको थियो। स्थानीय सुरक्षाकर्मी, गौर नपाको बारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आए पनि पटेलको घर पूर्ण रुपमा जलेको छ। आगलागीमा परी चारवटा बाख्रा, २ वटा पाठा र एक भैँसीको पाडो गरी करिब ३ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

गर्मीसंगै हावाहुरीका कारण आगलागी हुने मौसममा सर्वसाधारणहरु सार्वधानीपूर्वक खाना पकाएर आगो निभाउन जिल्लाको सम्पूर्ण प्रहरी युनिटमार्फत जनतालाई जानकारी एवं जनचेतना फैलाउने काम भइरहेको समेत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताएका छन्। 

प्रकाशित: २८ फाल्गुन २०७५ १५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App