समाज

सञ्चारकर्मी माथि भएकाे अभद्र व्यवहारप्रति महासंघको भर्त्सना

सिन्धुपाल्चोक - सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सञ्चारकर्मी अनिश तिवारीलाई गरेको अभद्र व्यवहारको पत्रकार महासंघले भर्त्सना गरेको छ।

महासंघ सिन्धुपाल्चोक शाखाले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रकाशित समाचारको विषयलाई लिएर अध्यक्ष जिसीले कान्तिपुर दैनिकमा कार्यरत जिल्ला सम्वाददाता तिवारीलाई धम्किपूर्ण भाषामा गालीगलौज गर्दै अमर्यादित व्यवहार गरेको घटनाको विरोध गरेको हो। ‘आफ्नै गाडीमा लिफ्ट दिएर सार्वजनिक समाचारको विषयमा गरेको असभ्य र अभद्र व्यवहारप्रति शाखा खेद व्यक्त गर्दछ,’ सहसचिव किशोर बुढाथोकीले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ।

घटनापछि मानसिक तनावमा रहेका सञ्चारकर्मी तिवारीले शुक्रबार आफूलाई अभद्र व्यवहार गरिएको बताए। ‘राजधानी जाने तयारीमा थिँए, अध्यक्षले आफ्नै गाडीमा खाडीचौरबाट लिफ्ट दिएर तथानाम गालीगलौज गर्दै धम्किपूर्ण भाषामा अभद्र व्यवहार गरेर बीचबाटोमै झारिदिए,’ पीडित सञ्चारकर्मी तिवारीले भने। केही समयअघि आफू विदेश जाँदा उपाध्यक्ष छोडेर कानुन विपरित वडाध्यक्षलाई कार्यवाहक दिएको र सुनकोसी नदी दोहनको विषयमा लेखेको समाचारमा आपत्ति जनाउँदै अध्यक्ष जिसी आफूमाथि खनिएको उनले बताए। 

प्रकाशित: १९ फाल्गुन २०७५ १३:५८ आइतबार

सुनकोसी_गाउँपालिका श्रवणकुमार_जिसी अनिश_तिवारी अभद्र_व्यवहार