समाज

‘लुम्बिनीलाई मन्त्री अधिकारीको अभाव खड्किरहनेछ’

बुटवल - पर्यटनमन्त्रीको पद सम्हालेपछि रवीन्द्र अधिकारी अनुगमन निरीक्षण तथा शिलान्यासका सन्दर्भमा ६ पटक भैरहवास्थित निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा आए। पछिल्लोपटक उनले माघ १ गते कार्गो भवनको शिलान्यास गर्दै आगामी भदौसम्म विमानस्थल निर्माण सम्पन्न गर्ने र असोजदेखि सञ्चालनमा ल्याउने स्पष्ट योजना सुनाएका थिए। आयोजनालाई निर्माण सामग्री अभाव हुँदा पनि उनले सम्बन्धित निकायसँग आफैं कुराकानी गरे। अनुगमन निरीक्षणका क्रममा मात्रै होइन, अन्य समयमा पनि अधिकारीले फोनबाटै आयोजनाको काम गुणस्तरीय हुनुपर्नेमा जोड दिइरहन्थे।

‘सके आफैं निरीक्षणमा आउनुहुन्थ्यो नभ्याए फोनबाटै विमानस्थलको प्रगति विवरण लिनुहुन्थ्यो,’ विमानस्थल स्तरोन्नति आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘गुणस्तरीय र तोकिएकै समयमा काम सक्नेगरी आयोजना अगाडि बढाउन बारम्बार निर्देशन दिइरहनुह्ुन्थ्यो।’ अधिकारीले आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापनसँगै कर्मचारीहरुलाइ हौसला समेत प्रदान गर्ने गरेको उनले सम्झिए। ‘उहाँले जुन रूपमा अभिभावकत्व निभाउनुभयो, त्यसले आयोजनालाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउन मद्दत पुगेको हो,’ अधिकारीले भने। पर्यटनसम्बद्ध विभिन्न कार्यक्रमका लागि पनि मन्त्री अधिकारी बारम्बार लुम्बिनी आउँथे। पछिल्लोपटक लुम्बिनी मार्टको उद्घाटन गर्दै अधिकारीले लुम्बिनीलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध ढंगबाट लागेको बताएका थिए।

मन्त्री अधिकारीको निधनले लुम्बिनीको पर्यटन विकासमा अपूरणीय क्षति पुगेको यहाँका पर्यटन व्यवसायीहरूले बताएका छन्। ‘मन्त्री अधिकारीको कार्यशैलीबाट नेपालको पर्यटन विकासले गति लिने आशा जागेको थियो, यस्तो हुन्छ भन्ने कसलाई के थाहा !’ नेपाल एसोसियसन ट्राभल्स एन्ड टुर्स एजेन्ट (नाट्टा) को प्रदेश ५ अध्यक्ष विष्णु शर्माले भने। पर्यटकीय विकासका लागि भिजन र काम गर्ने इच्छाशक्ति भएका अधिकारीको निधनले यहाँको पर्यटन क्षेत्र अत्यन्तै मर्माहत भएको उनले बताए। तोकिएकै समयमा गौतम बुद्ध विमानस्थल सञ्चालन, लुम्बिनीमा एकीकृत पर्यटन विकास, लुम्बिनी गुरुयोजना समयमै पूरा गर्नेजस्ता स्वर्गीय अधिकारीले लिएका लक्ष्य पूरा गर्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने शर्माले बताए।

पर्यटन व्यवसायी शर्माले भनेजस्तै लुम्बिनीको पर्यटन विकास र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्न मन्त्री भएदेखि नै अधिकारीले तदारुकता देखाएका थिए। ‘लुम्बिनीको पर्यटकीय विकास र विस्तारले मुलुकको सिंगो अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनमा थियो र त्यसका लागि लुम्बिनी गुरुयोजना पूरा गर्न तदारुकता देखाउनुभयो,’ लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भने। प्रदेश ५ का उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरीले पनि पर्यटन विकासकालागि भिजन भएको सक्षम र युवा व्यक्तित्व गुमाउनुपर्दा निकै पीडा भएको प्रतिक्रिया दिए। सिद्धार्थ होटल एसोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अन्योलमा परेको विमानस्थल निर्माणले अधिकारीकै पालामा गति लिएको उल्लेख गरे। उनका अनुसार मन्त्री अधिकारीले भैरहवालाई तराईकै उत्कृष्ट पर्यटकीय सहरका रूपमा विकास गर्न दीर्घकालीन योजनासमेत बताउने गरेका थिए। सिद्धार्थ होटल एसोसियसन लुम्बिनी च्याप्टरका अध्यक्ष मिथुनमान श्रेष्ठले लुम्बिनीको पर्यटन विकासकालागि बुद्धस्थलहरूको एकीकृत विकासमा अधिकारीले बढी जोड दिएको बताए। 

प्रकाशित: १८ फाल्गुन २०७५ ०४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App