समाज

सडक नखन्न अन्तरिम आदेश

खोटाङ – खोटाङ जिल्ला अदालतले मुद्दाको टुंगो नलाग्दासम्म रुम्दु–पिप्ले–फोक्सिङटार सडक निर्माण रोक्न अन्तरिम आदेश दिएको छ। खेत तथा सामुदायिक वनलाई असर पुग्ने गरी खोटेहाङ गाउँपालिका–७, लिच्कीराम्चेस्थित रुम्दु–पिप्ले–फोक्सिङटार सडक निर्माण भइरहेको भन्दै निषेधाज्ञाका लागि मुद्दा परेपछि अदालतले यस्तो आदेश दिएको हो।

सावा खोला किनारको खेत र कुलो विनास गर्ने गरी डोजर लगाएर सडक निर्माण सुरु गरिएको भन्दै लिच्कीराम्चे कालापानीका जग्गाधनी प्रेमबहादुर थापा, तुलसामाया थापा, विन्द्रबहादुर राउत र खजिन्द्रमाया मगरले गत माघ २० गते निषेधाज्ञाका लागि मुद्दा हालेका थिए। त्यसको भोलिपल्टै सडक निर्माण रोक्न अन्तरिम आदेश दिएकामा पुनः थप नौ जग्गाधनीले सोही प्रकृतिको मुद्दा दायर गरेपछि अदालतले अर्को अन्तरिम आदेश दिएको स्रेस्तेदार लालबहादुर कार्कीले जानकारी दिए।

असन्तुष्ट १३ जग्गाधनीले बराहपोखरी गाउँपालिका–१, बराहपोखरीका टंक मगर, टंकमणि मगर, सूर्य मगर, भवीन्द्र मगर, टंककुमार मगर र भुवन श्रेष्ठविरुद्ध जिल्ला अदालत (खोटाङ)मा निषेधाज्ञाका लागि मुद्दा दिएको अदालतले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App