समाज

हेलिकप्टर दुर्घटना अपडेटः शवहरु भोलिमात्रै काठमाडौं पठाइने

ताप्लेजुङ– बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव बिहीबार बिहान काठमाडौं पठाइने भएको छ। 

बुधवार साँझ सवा ७ बजेसम्म ४ वटा शव मात्र सुकेटार विमानस्थलसम्म ल्याइएको र बाँकी ३ वटा शवको संकलन कार्य जारी रहेको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। हेलिकप्टरबाट शव संकलन र उद्धार कार्य गर्न सम्भव नभएकोले सुरक्षाकर्मी र स्थानीय बासिन्दाको प्रयासमा शव संकलन गरेर रातभरीमा सुकेटार विमानस्थल ल्याउने र बिहान काठमाठौ पठाउने डिएसपी थापाले बताए। 

पानी र हिमपात परिरहेको तथा कुहिरोले आकाश पुरै ढाकेका कारण हेलिकप्टर घटनास्थल सम्म पुगेर शव ल्याउन नसक्ने अवस्था सिर्जना भएको छ। पहिलोपटक २ र दोस्रो पटक २ वटा शव लिफ्टिङ गरेर हेलिकप्टरमार्फत सुकेटार ल्याइएकोमा बाँकी शव ल्याउन भने यो प्रयास सम्भव नभएको थापाले बताए।

यसअघि प्रजिअ भण्डारीले लिफ्टिङ गरेर हेलिकप्टरमार्फत सुकेटारसम्म शव ल्याउने प्रयास गरिरहेको भन्दै सबै शव ल्याएपछि बुधवारै काठमाडौ पठाउने बताएका थिए।

प्रकाशित: १५ फाल्गुन २०७५ १३:३४ बुधबार

हेलिकप्टर_दुर्घटना रवीन्द्र_अधिकारी शव सुकेटार_विमानस्थल