समाज

व्रतमा एक महिना गुडुल्की

भक्तपुर - भक्तपुरका एक हुल व्रतालु पुरुष एक महिनासम्म दैनिक गुडुल्किएका छन् । नांगो खुट्टामा लुगा फुकालेर धोती मात्र लगाई उनीहरू बिहानबिहान दैनिक गुडुल्किएर फरकफरक देवस्थलमा पुगेका हुन् । एक महिने श्री स्वस्थानी व्रतका क्रममा भक्तपुरको हनुमानघाटमा हुने माधव नारायण व्रतमा भाग लिएका उनीहरूले परम्परा अनुसार गुडुल्किएरै उनीहरूले सोमबार भक्तपुर नगर परिक्रमा गरेका छन् । यसो गर्दा इच्छाएको कुरा पूरा हुने विश्वाससमा उनीहरू यस्तो कार्यमा सहभागी भएका हुन् ।

माधव नारायण व्रत (धलं) सेवा समितिका अध्यक्ष उद्धव खाइतूका अनुसार यो वर्ष कक्षा ३ मा पढ्ने बालकदेखि आठ दशक पुगेका ज्येष्ठ नागरिकसम्म छन् । उनका अनुसार दैनिक फरकफरक तीर्थस्थल परिक्रमा गर्ने क्रममा भक्तपुर नगरका तिलमाधव नारायणदेखि वंशगोपालसम्म, तलेजुदेखि खोखाली नारायण इटाछेंसम्म, बाकुपटी नारायण सूर्यमढीदेखि तुलाछेंसम्म, हनुमानघाटदेखि चण्डेश्वरीसम्म र अन्तिमपटक व्रत सम्पन्न हुनु एक दिनअघि सोमबार चतुर्दशीका दिन तिलमाधव पुगेर व्रत अन्त्य हुने परम्परा छ । यसबाहेक व्रतालुहरु यो एक महिनाका बीचमा भक्तपुर नगरबाहेक भक्तपुरकै चाँंगुनारायण, काठमाडौंको पशुपति, काभ्रेपलाञ्चोकको पनौतीमा पनि नांगो खुटाले हिँडेर पुग्नुपर्छ । टाढाको त्यो ठाउँंमा पुग्न भने गुडुल्किएर नभई हिडेरै कलश बोकेर यात्रा गर्ने चलन छ ।

व्रतमा महिलाहरू पनि प्रत्येक वर्ष सहभागी हुन्छन् । व्रतालु महिलाहरू भने दैनिक हनुमानघाटमै सुत्ने गर्छन् । पुरुषहरु भने बिहान मात्रै आई दिउँंसो आ–आफनो काममा र बेलुका आ–आफना घर जान्छन् । हनुमानघाटका सहायक पुजारी गोपाल शर्माका अनुसार एक महिने व्रत कथाका क्रममा सहभागी श्रद्धालुहरुले दैनिक बिहानै श्लोक पढ्ने, हनुमानघाट खोलाको पानीमा डुबेर जलाशयन गर्ने, नांगो खुटाले नै सबै लुगा फुकाई शरीर नापेर हिँड्नेलगायत धार्मिक क्रियाकलापमा सहभागी हुन्छन् । काठमाडौंको साँंखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने श्री माधव नारायणको ब्रत चल्ने गर्दछ । संस्कृतिविद् विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल संवत् ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण छ । एकमहिने व्रत आज (मंगलबार) सकिँदै छ ।

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:५० मंगलबार

व्रत गुडुल्की स्वस्थानी_व्रत