समाज

असिना पानीका कारण रौतहटमा लाखौंको इँटा नष्ट

तस्बिर : मदन/नागरिक

रौतहट - शुक्रबार र शनिबार परेको पानीले रौतहटमा सञ्चालित इँटाभट्टामा लाखौंको क्षति पुगेको छ। जिल्लाका १ सय ५७ भट्टामा करिब १५ करोडभन्दा बढीको क्षति भएको रौतहट इँटा व्यवसायी संघका अध्यक्ष रामविनोद साहले जानकारी दिए।

गरुडा नगरपालिका ५ मा रहेको उनको एसटीएल इँटा उद्योगमा असिना र पानीले १० लाख काँचो इँटा नष्ट भएको छ। अध्यक्ष साहले आफ्नो उद्योगमा मात्र करिब २५ लाख बराबर क्षति पुगेको बताए। यसैगरी दुर्गा भगवती गाउँपालिकामा रहेको माँ दुर्गा इँटा उद्योगका सञ्चालक मुकुन्द साहको उद्योगमा करिब पाँच लाख काँचो इँटा गलेका उनले बताए। असिना र पानीले काँचो इँटा गलेको र गल्न नसकेको इँटाको माथिल्लो भागमा दाग देखिएर गुणस्तर कमजोर भएको छ। इँटामा वर्षाको दाग देखिएपछि पोलेर पनि घटीमा २५ प्रतिशत कम मूल्यमा बेच्नुपर्ने उद्योगीहरुको भनाइ छ। इँटा पोल्ने कोइला र दाउरा पनि भिजेका छन्।

इँटा उद्योगको बीमा अन्य उद्योगसरह नहुँदा उद्योगी बढी मर्कामा परेका छन्। आफूहरुले इँटा उद्योगको पनि बीमा गर्न सरकारलाई बारम्बार आग्रह गर्दा पनि सरकारले बिमा नगरिदिएकाले धेरै क्षति बेहोर्नुपरेको अध्यक्ष साहले बताएका छन्।

गत वर्षको बाढीले पनि जिल्लाको इँटा उद्योगमा ६ करोडको क्षति पुर्याएको थियो। जिल्ला दैवी प्रकोप कार्यालयको प्रतिवेदनमा पनि जिल्लामा इँटा उद्योगमा ६ करोडको क्षति भएको भन्दै प्रतिवेदन बुझाएको तर सरकारले उद्योगीलाई क्षतिपूर्ति नदिएको गुनासो पनि अध्यक्ष साहले गरेका छन्।

असिना र पानीले जिल्लाको तेलहन तथा दलहन बालीमा पनि ठूलो नोक्सानी पुर्याएको छ। असिना र पानीले दलहन र तेलहन बालीका किसानलाई चिन्तित तुल्याए पनि उखु र गहुँ किसानलाई भने फाइदा पुर्याएको छ।

प्रकाशित: २६ माघ २०७५ १२:५६ शनिबार

इँटाभट्टा क्षति असिना_पानी