समाज

हिउँ फेरुवा बिछ्याएर गाडी सञ्चालन

बरफ जमेको ठाउँमा लिउ फेरुवा बिछ्याएर गाडी चलाइँदै ।

हुम्ला - माघ ७ गते रातिबाट परेकोे भारी हिमपातका कारण २ सातादेखि अवरुद्ध सडकमा हिउँमा लिउ फेरुवा (हुम्लाकोे घरेलु कार्पेट )बिछ्याएर शनिबारबाट सञ्चालनमा ल्याइएको छ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटदेखि खार्पुसम्म ११ किलोमिटर सडक भारी हिमपातले अवरुद्ध थियो। हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको भए पनि २ सातापछि शनिबार खार्पुनाथ यातायात प्रालिका सञ्चालक लोकजंग शाहीको नेतृत्वमा स्थानीय युवा र खार्पुनाथ यातायातका कर्मचारीले गाडी सञ्चालकको सहभागितामा हिउँ फाल्दै बरफ जमेको ठाउँमा फेरुवा बिछ्याएका हुन्।

सिमकोट बजारदेखि स्याम्नेसम्म यसरी फेरुवा बिछ्याइएको खार्पुनाथ यातायातका अध्यक्ष सरोज रावतले जानकारी दिए । यसरी गाडी सञ्चालनमा ल्याइँदा यात्रुलाई धेरै सहज भएको पनि उनले बताए।

 

प्रकाशित: २१ माघ २०७५ ०७:११ सोमबार

हिमपात हिउँ सडक