समाज

पानीको मुहान मासेर सडक नबनाउन माग

खोटाङ – पानीको मुहानलाई अशर पुग्नेगरी सडक निर्माण गर्न लागिएको भन्दै खोटाङको मात्तिमबिर्ताका स्थानीयले विरोध जनाएका छन्। साकेला गाउँपालिका–५ मात्तिमबिर्तास्थित तीनधारेमा रहेको पानीको मुहान तेर्सोबाट डोजर लगाएर सडक खन्ने तयारी गरिएको भन्दै ६ स्थानीयले पानीको मुल संरक्षणका लागि गाउँपालिका समक्ष निबेदन दिएका छन्।

वडा कार्यालयले स्थानीयले पिउन र सिँचाई गर्न उपयोग गरिरहेको पानीको मुहानलाई अशर पुग्नेगरी केहीमाथिबाट सडक खन्न लागेकाले खानेपानीको श्रोत संरक्षणमा आवाज उठाउनु परेको निबेदकमध्येका सिताराम दाहालले बताए। भीरको फेदमा रहेको पानीको महान संरक्षणका लागि बनाइएको कम्पाउण्डलाई नै किनारा बनाएर सडक खन्न लागिएको गाउँपालिका समक्ष दिइएको निबेदनमा उल्लेख छ।

वडा कार्यालयले आर्थिक वर्ष २०७५–०७६ मा बिनियोजन गरेको बजेटबाट पानीको मुलमाथिबाट सडक निर्माण गर्नेगरी सर्भे र नाँपजाँच गरिएको जनाइएको छ। माथि ४ धारा र मुनि ३ धारा रहेको खानेपानीकै मुलमाथिबाट सडक बनाउँदा भू–स्खलन हुने, पहिरो जाने र पानीको मुल भासिने खतरा देखिएकाले संरक्षणको माग अघि सारिएको दाहालले बताए। ‘बाटो बनोस्, बन्नु पर्छ। तर, खानेपानीको मुहान पनि संरक्षण गरौँ भन्ने हाम्रो माग हो,’ दाहालले भने, ‘विकास निर्माणको योजना सञ्चालन गर्नुपुर्व उक्त योजनाबाट लाभान्बित हुने उपभोक्ता संख्या, योजनाबाट हुने लाभ, योजना सञ्चालन गर्दा हुने घर तथा खेतीयोग्य जनिमको क्षती, प्राकृतिक सम्पदामा पर्ने क्षतीलाई पनि मध्यनजर राख्नुपर्छ भन्ने हाम्रो धारणा छ।’

७ वटा धारामध्ये २०७२ सालको भूकम्पपछि माथिल्ले चार धाराको पानी सुके पनि तल्लो तीन धाराबाट पर्याप्त पानी निस्कीरहेको छ। सडक योजना सञ्चालन गर्दा हुने क्षतीका सम्बन्धमा सम्बन्धित जग्गाधनीसँग सल्लाह र समन्वय समेत नगरिएको निबेदनमा भनिएको छ। स्थलगत निरिक्षण र अवलोकन गरी योजना सञ्चालनमा पुःर्नबिचार गर्न र खानेपानीको मुल संरक्षण गर्न भन्दै निबेदन परेपछि तत्कालै सरोकारवालापक्षसँग समन्वय गरेर मात्र कार्य अघि बढाउन वडालाई पत्राचार गरेको साकेला गाउँपालिका प्रमुख अर्जुन खड्काले बताए। ‘पानीकै मुहान बिग्रन्छ र वातावरणमा अशर पर्ने अवस्था भए सो काम रोकिन्छ,’ प्रमुख खड्काले भने, ‘बैकल्पिक ठाउँबाट सडक खन्नुपर्छ।’

मुहान संरक्षणका लागि भन्दै गाउँपालिकामा सिताराम सहित, तोसलकुमार दाहाल, पेशलकुमार दाहाल, नगेन्द्र दाहाल, जीवनाथ दाहाल, टंकनाथ दाहाल र केशवप्रसाद दाहाललको निबेदन परेको हो। वडाध्यक्ष बीरबल राईले गाउँपालिकाको पत्र अनुशार पुस १७ गते बैठक राख्दा पानीको मुहानलाई अशर नगर्ने निष्कर्षसहित बाटो खन्ने निर्णय भएको बताए।

प्रकाशित: १६ माघ २०७५ ०५:५३ बुधबार

पानी मुहान सडक_निर्माण स्थानीय