समाज

विशेष टोली गठन गर्न सिफारिस, भेजिनल स्वाबको नमुना संकलन नै गलत

काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको भेजिनल स्वाबको नमुना परीक्षणको संकलन प्रक्रिया गलत रहेको जनाएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया पन्तको गत साउनमा बलात्कारपछि हत्या गरिएको थियो।

‘सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको पाइयो। यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन। यसरी संकलन गरी टेस्टट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्ने जस्ता समस्या रहेको पाइयो। मूलतः नमुना संकलन प्रक्रिया त्रुटिपूर्ण रहेको पाइयो’, घटनाका सम्बन्धमा अनुसन्धान गर्न आयोगले गठन गरेको विज्ञ टोलीको प्रतिवेदनमा उल्लेख छ। पूर्वमहान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्वएआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा संलग्न विज्ञ टोलीले एक हप्ताअघि आयोगलाई बुझाएको थियो। प्रतिवेदन आइतबार आयोगले सरकारलाई बुझाएको हो। आयोगले प्रतिवेदनका केही बुँदा वेबसाइटमा सार्वजनिक गरेको छ।

घटनाका सम्बन्धमा अनुसन्धान गर्न आयोगले गत कात्तिक २७ गते सो विज्ञ टोली गठन गरेको थियो। स्वाबको नमुना संकलन महाकाली अञ्चल अस्पतालमा चिकित्सकको टोलीले गरेको थियो। एकै पटक बाबुछोराकै डिएनए परीक्षण गर्नु गलत

सो हत्या प्रकरणमा संकलित प्रमाण भेजिनल स्वाबको नमुना परिक्षणमा बाबुछोराको एकैपटक डिएनए परीक्षण गर्नु गलत भएको निष्कर्ष आयोगको छ। ‘अनुसन्धान गर्ने निकाय प्रहरी र सरकार दुवै भीडबाट निर्देशित भएर बिनाआधार डिएनए परीक्षणमा लाग्दा अनुसन्धानसमेत प्रभावित भएको देखिन्छ र त्यसले व्यक्तिको गोपनीयताको हकलाई समेत प्रभावित पारेको छ’, सो टोलीका एक सदस्यले भने। कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र उनका छोराको डिएनए एकैपटक परीक्षण गरिएको थियो। ‘बाबुछोराको डिएनए एकैपटक परीक्षण गर्दा बाबुछोराकै आपसमा नमिलेको भए त्यो परिवारको हालत के हुन्थ्यो होला ? त्यसकारण त्यो गलत भनिएको हो’, विज्ञ टोलीका एक सदस्यले भने।

भेजिनल स्वाबको परीक्षण ‘वाई एसटिआर’ पद्धतिअनुसार गर्दा त्यसमा पुरुषको वीर्य देखिए पनि त्यो बलात्कारी हो वा होइन भन्ने दोधार हुने ठहर प्रतिवेदनमा गरिएको छ। तर ‘अटोजोमल एसटिआर’ पद्धतिको परीक्षणमा पनि पुरुषको वीर्य देखिनु अनिवार्य हुन्छ। वाई एसटिआरमा पुरुषको डिएनए भेटिनुको अर्थ त्यहाँ पुरुषको वीर्य छ भन्ने हो भने वाई एसटिआरमै भेटिएको त्यो पुरुषको ‘एक्स’ पनि हुन्छ र त्यो अटोजोमल एसटिआरमा देखिनैपर्ने प्रतिवेदनमा उल्लेख छ। प्रहरीले अटोजोमोल परीक्षण गरेको हो कि होइन भन्ने उल्लेख नभएकाले ‘वाई एसटिआर’ पद्धतिले मात्रै डिएनए परीक्षण सफल नहुन सक्नेतर्फ इंगित गरेको स्रोतले जनाएको छ।

भेजिनल स्वाबको डिएनए नमुना परीक्षण प्रहरीले प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो। त्यसलाई नास्टको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पनि पठाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘अनुसन्धान प्रक्रियामा रहेको नमुना परीक्षण प्रहरीकै प्रयोगशालामा हुने भए पनि विवाद उत्पन्न भएपछि त्यसलाई नास्टमा पनि पठाउनुपथ्र्यो’, ती सदस्यले भने। प्रहरीले प्रयोगशालामा पठाएको भेजिनल स्वाबको परीक्षण महिला स्वाब र पुरुष वीर्यको छुट्टाछुट्टै परीक्षण गर्नुपर्नेमा त्यसो नगरिएको पनि प्रतिवेदनमा उल्लेख छ। ७० पृष्ठको प्रतिवेदन २५ वटा बुँदामा अनुसन्धानको कमजोरी औंल्याइएको छ।

प्रहरीले अनुसन्धानका पुराना विधि नअपनाएको तथा ऐनले दिएको अधिकार प्रयोग गर्नुको साटो भीडले जे भन्दै गयो त्यहीअनुसार अनुसन्धान टोली परिचालित हुँदा अनुसन्धानको भित्री पाटो आउन नसकेको प्रतिवेदनमा उल्लेख छ। पन्तको हत्या अनुसन्धानमा संलग्न प्रहरीलाई समेत मनोबल खस्कने गरी कारबाही गरेको र त्यसले पछिल्ला अनुसन्धानमा संलग्न प्रहरीले पनि ध्यान दिएर काम गर्ने अवस्था नआएको प्रतिवेदनमा जनाइएको छ।

प्रहरीमा फोन ट्यापिङको अनुसन्धान गर्ने प्रविधि नहुनु, घटनास्थलमा भएका प्रमाण नष्ट भए पनि प्रहरीको सूक्ष्म अनुसन्धानलाई भीडले गाइड गर्नुजस्ता विषयले पनि परिणाम आउन ढिलाइ भएको प्रतिवेदनमा उल्लेख छ। विज्ञ टोलीका एक सदस्यका अनुसार आयोगलाई बुझाएको प्रतिवेदनमा कोही कसैलाई कारबाहीको सिफारिस गरिएको छैन। ‘केही कमजोरी औंल्याइएको छ र केही सुझाव दिएका छाैँ तर कारबाही गर्ने र भेजिनल स्वाब गलत थियो भन्ने कुनै आधार नभेटिएकाले सुझावसहितको प्रतिवेदन दिएका हाैँ’, ती सदस्यले भने। प्रतिवेदनमा अनुसन्धानका लागि विशषेज्ञ टोली बनाउनुपर्ने सुझाव दिइएको छ।

प्रहरी महानीरिक्षक आफैँले महान्यायाधिवक्ताको परामर्शमा अनुसन्धानका लागि विशेष टोली बनाउनुपर्ने सिफारिस विज्ञ टोलीले गरेको छ भने प्रशासनिक अनुसन्धान टोली बनाउन निरुत्साहित गर्न पनि सुझाव दिएको छ।

प्रहरीका अनुसार निर्मला हत्या प्रकरणमा अहिलेसम्म २० जना व्यक्तिको डिएनए परीक्षण भइसकेको छ। केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुदीप गिरीको नेतृत्वमा डिएसपीद्वय मनोहर भट्ट, रुगम कुँवर, सई गजेन्द्र रावलको टोली अनुसन्धानका क्रममा एक महिनादेखि कञ्चनपुरमा खटिएको छ। सो टोलीले पनि केही व्यक्तिहरूको डिएनए परीक्षण सिफारिस गरेको भए पनि परीक्षण रिपोर्ट आइनसकेकाले प्रहरीले त्यसलाई बाहिर ल्याएको छैन। निर्मलाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते उखुबारीमा भेटिएको थियो। सो प्रकरणमा अनुसन्धान गर्दा लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त भएका छन्।

प्रकाशित: १४ माघ २०७५ ०२:४२ सोमबार

राष्ट्रिय_मानवअधिकार_आयोग निर्मला_पन्त बलात्कार नमुना_परीक्षण