समाज

युवकको हत्या गर्ने समूह पक्राउ, उजुरी दिनै डराउँछन पीडित

धनगढी– कैलालीको अत्तरियामा शनिवार एक युवकको हत्या र ३ जना घाइते हुने गरी खुकुरी प्रहार गर्ने मुख्य अभियुक्त सहित ४ जनालाई प्रहरीले सोमवार सार्वजनिक गरेको छ। युवकको हत्यामा संलग्न मुख्य अभियुक्त कैलाली गोदावरी नगरपालिका २ का २१ बर्षीय बिनोद ऐर रहेको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए। 

उनलाई भगाउने धनगढी उपमहानगरपालिका ३ बोराडाँडीका २२ वर्षीय डेबिड सिंह ऐर र लुकाउने धनगढी २ का २१ वर्षीया मन्जु चौधरी र १३ का २१ वर्षीय लोकेश खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। अपराधीलाई भगाउन र आश्रय दिनेलाई पनि मतियारको रुपमा मुद्दा चलाइने उनले बताए।

अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव हेरेर फर्किने क्रममा शनिवार साँझ ६ बजेतिर गोदावारी नगरपालिका वानं १ का १९ बर्षिय अरुण भट्टलाई लखेट्दै छातीमा खुकुरी प्रहार गरेर उनले हत्या गरेका थिए। भट्टसंगै रहेका अन्य ३ जनालाई पनि आक्रमण गरेर घाइते बनाएका थिए। खुकुरी प्रहार गर्ने मुख्य अभियुक्त ऐरको समुहमा रहेका अन्य युवाहरु भने अझै फरार रहेका छन। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। ऐरले अपराध गरेको स्वीकारिसकेको प्रहरीले जनाएको छ। हत्या गरेपछि शनिवार नै खानडाडा पुगेर फर्केका ऐर त्यस राती गेटा पछाडीको जंगलमा वसेको प्रहरीले जनाएको छ। धनगढीको त्रिनगर नाकामा पुगेका उनी आइतवार धनगढी वोराडाडी स्थित घरमा लुकेर वसेको बेला प्रहरीले पक्राउ गर्न सफल भएको हो। उनले फोनमा आफ्नो साथीलाई भट्टको हत्या आफूले नै गरेको र अर्को एक जनाको हत्या पनि गर्ने भनेर भनेको प्रहरीले बताएको छ। 

पीडित उजुरी दिन नै डराउँछन

अभियुक्त ऐर खुल्लम खुला खुकुरी लगायतका हतियार बोकेर अत्तरियामा गुण्डागर्दीमा संलग्न समुहका युवा रहेको प्रहरी उपरीक्षक तिम्सिनाले बताएका छन। यसअघि पनि बिभिन्न व्यक्तीलाई कुटपिट र आक्रमण गरेर पक्राउ परेर मिलापत्र गरि छुटेको उनको विगतको रहेको उनले बताए। उनी संलग्न युवाको समुह खुकुरी लगायतका हतियार बोकेर गुण्डागर्दी गर्दै हिड्ने गरेको पाइएको उनी बताउँछन। शनिवार नै गोदाबरी १ का सविन कटेललाई महोत्सवमा गणेश बिकले ससको बोतलले हिर्काएर घाइते बनाएको एसपी तिम्सिनाले बताए। डरले पिडित पक्षले उजुरी नै दिन नमानेपछि बिकलाई आइतवार रिहा गरिएको उनी बताउँछन्।‘पीडितले उजुरी दिएमा ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन सकिन्थ्यो’, उनी भन्छन। ऐरको समूहमा ६, ७ जना रहेको र खकुरी प्रहार गर्ने बेला ४ जना रहेको उनले बताए।

खुल्लम खुला खुकुरी बोकेर आक्रमण गर्दा अत्तरिया असुरक्षित बनेको भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन। पुरानो रिसिइवीका कारण घर फर्कने क्रममा एकाएक आक्रमण गरेर युवकको हत्या गरिएको हो। के कारण रिसिईवी भएको भनेर खुल्न सकेको छैन। ‘समूह फाइट भएको होइन्, एकाएक आक्रमण गरेर हत्या गरिएको हो’, उनले भने। गत कात्तिकमा अत्तरियामा एक किशोरीको हत्या प्रयास गर्नेंमा यो समुहको संलग्नता रहे वा नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत कात्तिकको अन्तिम सातातिर अत्तरियामै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्यनरत १७ बर्षिय किशोरी ईश्वरी चौधरीलाई दिनदहाडै ५, ६ जना युवाको समुहले कुटपिट गरेर ती युवतीलाई बेहोस भएपछि मर्यो भनेर नालीमा फालेर फरार भएका थिए। प्रेम प्रस्ताव अस्वीकार गर्दा युवाहरुको समुहले दिनदहाडै हत्या गरेर नालीमा फाल्ने योजना सहित आक्रमण गरेका थिए। मरिसक्यो भनेर नालीमा फालिएको किशोरीको आफै होश खुलेकाले उनको उद्धार हुन सकेर ज्यान जोगिएको हो। दिनदहाडै फिल्मी शैलीमा किशोरीलाई आक्रमण गरि नालीमा फालेर जाने युवाहरु पनि पक्राउ परेका छैनन्।

प्रकाशित: ७ माघ २०७५ १४:०१ सोमबार

हत्या युवक गुण्डा उजुरी