हुम्ला - सरकारले मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरेको तीन वर्ष नाघिसक्यो। तर हुम्लावासीका हकमा भने उक्त घोषणा निरर्थकजस्तै बनेको छ। हुम्लामा मात्रै होइन, कर्णाली बग्ने सबैजसो जिल्लामा नदी वारपार गर्न तुइनको विकल्प छैन। दैनिक कामकाज गर्ने सिलसिलामा नदी वारपार गर्न ज्यानको बाजी लगाएर तुइनमा नझुन्डिनहुने बाध्यता रहेको स्थानीय बताउँछन्।
विभिन्न ठाउँमा स्थानीयले बनाएका काठेपुल कर्णालीले बगाएपछि तुइनबाट वारपार गर्नुपर्ने हुम्लावासीको समस्या चाँडै समाधान हुनेमा विश्वस्त गराउने कुनै योजना पनि अगाडि बढेको देखिन्न। कर्णालीको हिल्सादेखि कवाडीसम्म कम्तीमा तीन किलोमिटरको दूरीमा पुल हुनुपर्ने आवाज उठिरहे पनि त्यसको सम्बोधन हुने पर्खाइमा हुम्लावासी रहँदै आएका छन्।
‘मान्छे ओहोरदोहोर गर्ने मात्र होइन, घाँस–दाउरा पनि तुइनबाटै तार्नुपर्छ,’ खार्पुनाथ गाउँपालिका–३ की महिला सदस्य धना शाही भन्छिन्, ‘खेतमा जाँदा होस् या गाउँपालिका कार्यालय, तुइन नभई सम्भव छैन।’ चार–पाँच वर्षदेखि बर्सेनि मुस्याडी, बाक्चेगौडा र याङचु कुनामा पुल बनाउने भन्दै सर्भे हुँदै आए पनि अहिलेसम्म पुल बन्ने कुनै सुरसार नभएको उनी बताउँछिन्। पाँचवटा वडा भएको खार्पुनाथमा वडा २,३ र ४ का जनताले पालिका केन्द्रमा जान तुइनको सहारा लिनुपर्ने अवस्था रहेको बताउँछन्, वडा ३ का अध्यक्ष गुलाम रावल।
खार्पुनाथ मात्र नभएर सर्केगाड गाउँपालिका–२ रिपगाउँका बासिन्दा पनि तुइनकै भरमा नदी वारपार गर्छन्। उनीहरू दैनिक रूपमा घाँसदाउराका भारी पनि तुइनबटै तार्छन्। पिठ्यूँमा भारी बोकेर खतरा मोल्दै तुइनबाटै ओहोदोहोर गर्दै आइरहेकोको बताउँछन्, रिपगाउँका स्थानीय वीरजित परियार। ‘तुइनमा भारी बोक्न डर मान्नेहरूको सरसामान ओसार्न पनि सहयोग गर्दै आएको छु्,’ उनी भन्छन्, ‘कर्णालीले काठेपुल बगाएपछि गाउँले सबैले तुइनकै भरमा दैनिकी चलाउनुपरेको छ।’ कर्णालीको गिउसी भन्ने ठाउँमा पुल नभएको पनि होइन तर पुग्न तीन घन्टा लाग्ने भएकाले तुइन नै रोज्नुपरेको स्थानीय गोरे फडेरा बताउँछन्। खेतीपातीका लागि कर्णालीपारि जान पनि समस्या हुने गरेको उनको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार हुम्लाभरि एक दर्जनभन्दा बढी स्थानमा तुइनको प्रयोग हुँदै आएको छ ।
खार्पुनाथका स्थानीय जनता मात्र होइनन्, तुइनकै सहारामा गाउँपालिकाका अध्यक्ष कर्ण रावल पनि कार्यालय आवतजावत गर्दै आएका छन् । केही छिमेकी गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन्। ‘गाउँपालिका कार्यालय आउजाउ गर्न तुइनकै भर छ र तर्ने क्रममा डरले आङ सिरिङ हुन्छ, तर के गर्नु ? कुनै उपाय छैन,’ खार्पुनाथ–४ का स्थानीय बासिन्दा मक्क रोकाया भन्छन्। बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा झन् समस्या हुने गरेको उनको भनाइ छ। बालबालिकाले ढिलो गररे भने तुइन चुँडियो कि भन्ने चिन्ता हुन्छ,’ उनी भन्छन्, ‘त्यस्तो चिन्ताले कहिलेकाहीँ त आमाबाबु नदीछेउसम्मै पुग्ने गरेका छन्।’ अध्यक्ष रावलले तीनवटा वडावासीको गुनासो आफूले पनि दैनिक रूपमा सामना गर्दै आएको सुनाउँछन्।
‘म पनि तुइन तरेरै कार्यालय जान्छु,’ उनी भन्छन्, ‘पुल बनाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको छु।’ यहाँका तीनवटा वडाका अध्यक्ष, सदस्यहरू पनि तुइनमै आवतजावत गर्दै आएको उनी सुनाउँछन्। कर्णालीको पूर्वतिर खार्पुनाथको कार्यालय छ । वर्षौंदेखि तुइनकै भरमा यताउता गरेकाले बानी परिसकेकोे उनी सुनाउँछन्। ‘तुइनमा पारि नपुगेसम्म आफैंलाई डर लाग्छ नि,’ अध्यक्ष रावल भन्छन्, ‘जनताको गुनासो सम्बोधन गर्न गाउँपालिकाको बजेटले भ्याउँदैन । मन्त्रालय, सांसद सबैलाई गुहारिरहेको छु ।’ खार्पुनाथभित्र तुइन भएका सबै स्थानमा पुल निर्माणका लागि सर्भे गरिएकाले एक वर्षभित्र पुल बन्ने आशामा अध्यक्ष रावल छन्।
प्रकाशित: ६ माघ २०७५ ०२:०९ आइतबार