समाज

कोहलपुर यूवक हत्या काण्ड, फरार आरोपी नियन्त्रणमा लिन गोली प्रहार

निर्मल घिमिरे

बर्दिया-  पुस २७ गते सुर्खेत सिम्ता गाउँपालिका—४ का दिपक सिंहलाई बाँकेको कोहलपुरको बसपार्क स्थित खुला चौरमा मा घाँटी रेटेर हत्या गरेर फरार भएका आरोपीलाई बाँके प्रहरीले बर्दियामा बुधबार दिउँस  गोली प्रहार गरेको छ। बाँके राप्ती सोनारी गाउँपालिका—२ का जिरे भन्ने युवराज गिरीलाई नियन्त्रणमा लिने खोज्दा प्रहरीले बर्दियाको मधुवन नगरपालिका—३ मा प्रहरीले गोली प्रहार गरेको हो। प्रहरी नियन्त्रणमा लिएर गाडी राख्ने बेलामा भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरेको एसपी अरुण पौडेलले बताए।‘नेपाल भारतको सीमावर्ती क्षेत्रमा हत्या आरोपी रहेको प्रहरीसँग सूचना थियो’उनले नागरिक न्यूजसँग भने,‘गिरी लुकिछिपि बसेको संम्भावित क्षेत्रमा परिचालित प्रहरीले गिरीलाई नियन्त्रणमा लिएका थियो। ’

बायाँ खुट्टा तल गोली लागेर घाईते भएका गिरी खतरा मुक्त भएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट गिरीको खोजीका लागि प्रहरी निरीक्षक भरत सिंहको कमाण्डमा मंगलबार देखि बर्दिया बाँके प्रहरीको टोली खटिएको थियो। बाँकेको प्रहरी टोलीले गिरीलाई नियन्त्रण लिएपछि गाडीमा राख्ने क्रममा भाग्न खोज्दा गोली प्रहार भएको हो। घाईते गिरीलाई कोहलपुरस्थित शिक्षण अस्पताल उपचार क्रममा छन्। घटनामा संलग्न अर्का अछाम हिर्मा गापा—६ का भरत शाहीलाई प्रहरीले मंगलबार सुर्खेतबाट  पक्राउ गरी थप अनुसन्धानका लागि बाँके प्रहरी नियन्त्रणमा लिईसकेको  छ।

प्रकाशित: २ माघ २०७५ ०९:५६ बुधबार

हत्या पक्राउ गोली