दोलखा– आइतबार दिउँसो करिब ३ बजे दोलखास्थित लामावगरको आकासमा बाजले एउटा चरोलाई आक्रमण गरेर आफ्नो पञ्जामा पार्न खोजिरहेको दृश्य देखियो।
त्यो चरो बाजको पञ्जाबाट उम्कीन खोज्दै थियो भने बाजले चरोलाई कोतर्न खोज्दै, लखेट्दै गरेको दृश्यले माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलमा काम गरिरहेका मजदुरहरुको मन कुडियो।
केही बेरमा त्यो चरो आयोजनाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलको चेकपोष्ट नजिकको झाडीमा खस्यो, बाज भने आकासबाटै आफ्नो बाटो लाग्यो। यो दृश्य देखेका मजदुरहरुले सशस्त्र प्रहरीका हवल्दार प्रकाश चौधरीलाई खबर गरे। चौधरी टोली सहित झाडीमा पुग्दा एउटा ठुलो चरो छट्पटाईरहेको थियो। उनीहरुले त्यसलाई बिस्तारै नियन्त्रणमा लिए।
सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको उक्त चरो राष्ट्रिय पंक्षी डाफे थियो। बाजको पञ्जाबाट फुत्केर ज्यान जोगाउन लामावगरको बस्ती नजिक झाडीमा हाम फालेको डाँफे घाइते भइसकेको थियो।
हमालका अनुसार २.५ केजी वजन रहेको उक्त पोथी डाँफे खैरो रङको थियो। बाजको आक्रमणका कारण डाँफेको पखेटाका कतिपय प्वांखहरु झरेका थिए भने पुच्छर तर्फको प्वांखको चोट थियो। खुट्टा माथि साप्रामा गहिरो चोट लागेको थियो।
हमालको टोलीले साँझ सिंगटी स्थित आयोजनाको कार्यालयमा ल्याएर डाँफे फेला परेको बारे संरक्षण क्षेत्र आयोजनाले माथिल्लो निकायमा खबर ग-यो। माथिल्लो निकायले डांफेलाई सदर चिडियाखाना पठाउन निर्देशन दियो। संरक्षण क्षेत्रका कर्मचारीहरु बिहान कसरी राजधानी पठाउने भन्ने बिषयमा छलफल गरे। घाइते डाँफेलाई आयोजनाको एउटा कोठामा राखेर उनिहरु सुते।
आयोजनाका प्रमुख सत्यनारायण शाहका अनुसार डाँफे चरो चिडियाखानामा समेत छैन्। ‘यो चरो सदर चिडियाखानामा समेत छैन’, शाहले भने, ‘दोलखामा पाइएको भनेर चिडियाखाना पठाउन पाउँदा उत्साहित थियौं, तर दुर्भाग्य बचाउन सकिएन।’ प्रमुख शाहका अनुसार राष्ट्रिय पंक्षी डाँफे संरक्षित सूचीमा पर्छ। दोलखाको लामावगर र गौरीशंकर हिमाल आसपासमा यो पंक्षी प्रशस्त पाइने बताइए पनि यसको आँकडा भने संरक्षण क्षेत्रले उतार्न सकेको छैन्।
प्रकाशित: १ माघ २०७५ ०५:१२ मंगलबार