समाज

आजदेखि पाँचतले मन्दिरमा मोटर लान नपाइने

क्याप्सनः भक्तपुरस्थित पाँचतले मन्दिर। तस्बिरः कृष्ण/नागरिक

भक्तपुर – भक्तपुरको पाँचतले मन्दिर परिसरमा मंगलबार (माघ १ गते) देखि चारपांग्रे सवारीसाधन प्रवेशमा रोक लगाइने भएको छ। विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिर हाताभित्र यस्ता गाडी ल्याउँदा पर्यटकलाई बाधा पुगेको भन्दै भक्तपुर नगरपालिकाले यसमा रोक लगाउने निर्णय गरेको हो।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बढी भार हुने चारपांग्रे सवारीसाधन पाँचतले मन्दिर क्षेत्र भएर गुड्दा पछि असर पर्ने भएकाले यस्ता गाडी प्रवेशमा रोक लगाइएको जानकारी दिएको छ। यसअघि नगरपालिकाले यसबारे सरोकारवालाहरूसँग पटकपटक छलफल गरेको थियो।

पाँचतले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्र्रह्म महाविहारको पूर्वी बाटो र दक्षिणमा तिलमाधव नारायण मन्दिरको पूर्वी ढोकायता चार किलाभित्र लागू हुने गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि चारपांग्रे सवारीसाधन निषेध गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ।

भक्तपुरमा चारपांग्रे गाडी लिएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि भक्तपुरको भेलुखेल योसिंखेलस्थित पहिलाको डम्पिङ साइट भएको स्थानमा पार्किङ व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। तर तत्काललाई दुईपांग्रे सवारीसाधनलाई रोक नलगाइएको नगरपालिकाले जनाएको छ।
अत्यावश्यक सवारीसाधन जस्तै, एम्बुलेन्स, दमकललगायतका गाडी भने मन्दिर क्षेत्रमा चलाउन पाइने नगरपालिकाको सूचनामा उल्लेख छ। यसबाहेक अन्य विशेष सवारीसाधनलाई भने नगरपालिकाको स्वीकृति लिएर मात्रै चलाउन पाइने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले भक्तपुर दरबार क्षेत्रभित्र दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन निषेध गरेको थियो।

प्रकाशित: १ माघ २०७५ ०३:५६ मंगलबार

पाँचतले_मन्दिर सवारीसाधन सम्पदा पर्यटक