समाज

पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएको भन्दै विद्यार्थीद्वारा तोडफोड

काठमाडौं - त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आइतबार भएको भौतिक शास्त्र स्नातकोत्तर विषयको आंशिकतर्फका परीक्षार्थीहरु पाठ्यक्रमभन्दा बाहिरका प्रश्न सोधिएको भन्दै परीक्षा बहिष्कार गरेका छन्।

तहाचलको महेन्द्ररत्न क्याम्पसमा आइतबार १२ बजे तोकिएकै समयमै भौतिकशास्त्रका क्वान्टम मेकानिक्स विषयका विद्यार्थी परीक्षा दिन पुगेका थिए। ‘हामीले पुराना पाठ्यक्रम पढेका हौं तर प्रश्न नयाँ पाठ्यक्रमबाट सोधियो,’ पीडित विद्यार्थी आशिष पौडेलले भने, ‘हामीले केन्द्राध्यक्ष र डिन कार्यालयसँग सोध्दा कुनै जवाफ नआएपछि हामी परिक्षाबाट बाहिरिएका हौं।’ प्रश्नपत्र विवादका कारण महेन्द्ररत्न कलेजमा केही समय तनाव भयो। पुराना पाठ्यक्रमका विद्यार्थीहरु सबै परीक्षा बहिष्कार गरेर बाहिरिए।

आक्रोषित विद्यार्थीको भीडले विज्ञान तथा प्रविधि संकाय डिन कार्यालय पुगी तोडफोड गर्‍यो। सहायक परीक्षा डिन तेजबहादुर बिसीले विद्यार्थीहरुको एक हुल आएर पाठ्यक्रमभन्दा बाहिरका प्रश्न सोधिएकोले परिक्षा रद्द गर्न निवेदन दिएको बताए। ‘निवेदन डिन कार्यालयले विषय समितिमा राख्नेछ,’ सहायक डिन बिसीले भने, ‘त्यहाँबाट जे निर्णय हुन्छ त्यही नै अन्तिम निर्णय हो।’ उनले हाल कुनै पनि परीक्षा रद्द नगरिएको स्पष्ट पारे।

प्रकाशित: ३० पुस २०७५ ०३:३९ सोमबार

त्रिभुवन_विश्वविद्यालय विज्ञान_तथा_प्रविधि_अध्ययन_संस्थान पाठ्यक्रम प्रश्न विद्यार्थी तोडफोड