समाज

लागुऔषध मुद्दामा युवाकाे संलग्नता बढी

वीरगन्ज - नेपाल प्रहरीले दर्ता र अनुसन्धान गर्ने मुद्दाहरूमा सबभन्दा बढी लागूऔषधसम्बन्धी हुने गरेका छन्। यस्तो मुद्दामा परेकामध्ये ८१.११ प्रतिशत युवा रहेको सीमावर्ती जिल्ला पर्साको तथ्यांकले देखाएको छ। जसले लागूऔषध ओसारपसार, कारोबार तथा खानेमा युवाको संलग्नताबारे समग्र देशकै चित्रण गर्ने सरोकारवाला अधिकारीहरू बताउँछन्।

त्यस्तै कारागारमा रहेका कैदीबन्दीमा पनि ४० प्रतिशतभन्दा बढी लागुऔषधकै मुद्दाका छन्। यसमा पनि अधिक संख्या युवाकै छ। लागूऔषधमा युवा संलग्नताको यो अवस्थालाई जानकारहरूले ‘भयावह’ भनेका छन्। समान्य झैझगडा र मदिरा प्रयोगजस्ता विषयमा चलाइने ‘केही सार्वजनिक अपराध’बाहेक प्रहरीले अनुसन्धान गर्ने अरू सबै प्रकारका मुद्दामध्ये लागूऔषधकै बढी छ।

वीरगन्जस्थित कारागारको तथ्यांकअनुसार त्यहाँ रहेका १ हजार २ सय ८० कैदीबन्दीमध्ये ५ सय ३० लागूऔषध मुद्दाका छन्। त्यसमा ७५ प्रतिशत ३५ वर्षमुनिका छन्।

गत आर्थिक वर्षको तथ्यांकअनुसार पर्सामा प्रहरीले लागुऔषधसम्बन्धी एक सय ४२ मुद्दा चलाएको छ। जसमा दुई सय १२ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये १६ देखि ३५ वर्षसम्मका ८१ प्रतिशत छन्। जसमा २१ महिला छन्। यस्तै वीरगन्जस्थित कारागारको तथ्यांकअनुसार त्यहाँ रहेका एक हजार २ सय ८० कैदीबन्दीमध्ये पाँच सय ३० जति लागुऔषध मुद्दाका छन्। त्यसमा पनि ७५ प्रतिशतजति ३५ वर्षमुनिका छन्। ‘यहाँ रहेका कैदीबन्दीमध्ये लागूऔषध मुद्दामा आएकाहरूको संख्या सबैभन्दा बढी छ। देशकै अवस्था हो यो। कारागारमा करिब आधाजति कैदीबन्दी लागूऔषध मुद्दाकै हुने गरेका छन्,’ वीरगन्जस्थित कैदीबन्दी सुधार गृहका सूचना अधिकारी गणेश भण्डारीले भने, ‘यसमा युवाको संख्या अधिक छ। यसकारण यो विषय गम्भीर नै हो भन्ने लाग्छ। यसपछाडिका कारण भने म बताउन सक्दिनँ।’

साङ्लोजस्तो समस्या
वीरगन्जमा दुई दशकदेखि लागुऔषधविरुद्ध अभियानमा क्रियाशील महेश अर्यालका अनुसार लागूऔषधमा युवा संलग्नता एउटा भयावह अवस्था हो। ‘युवाको ठूलो समूह लागुऔषधको जालोमा परिरहेको छ, यसको प्रयोग वा ओसारपसारमा लागेका एक युवाले आफ्ना साथी अरू युवालाई पनि तानेर ल्याउने गर्छ, यस्तो साङ्लोलाई तोड्न निकै चुनौती छ,’ अभियन्ता अर्याल भन्छन्, ‘लागूऔषध कारोबारमा प्रहरीले पक्राउ गर्नेमध्ये ६५ प्रतिशतजति भरिया आफैं प्रयोगकर्ता पनि हुन्छन् भने ७० प्रतिशतजतिले आफ्ना साथी संगतबाट यो खान सिकेका हुन्छन्।’

यसपछाडि सामाजिक र पारिवारिक कारण जिम्मेवार रहेको उनको ठम्याइ छ। ‘बाबुआमाले समय नदिएका कारण किशोरकिशोरी आफ्ना दौतरीसँग बढी समय बिताउँछन्। अनि उनीहरूकै कुरा मान्न र मन पराउन थाल्छन्। जसमा लागुऔषध पनि पर्छ,’ अभियन्ता अर्यालले अगाडि भन्छन्, ‘त्यसपछि लागूऔषधकै आवश्यकता एवं किशोर उमेरमा बढ्दो आकांक्षा पूर्तिका लागि सजिलै पैसा कमाउने बाटो खोज्दै उनीहरू लागुऔषधकै ओसारपसारमा संलग्न हुन पुग्छन्।’

वीरगन्जस्थित कैदीबन्दी सुधार गृहमा कैद भुक्तान गरिरहेका बाराको सिमरा घर भएका ३० वर्षे युवकले पहिले साथीहरूको लहैलहैमा लागुऔषध खान सिकेको र पछि बानी लागेको बताए। पछुतो मान्दै उनले भने, ‘रक्सौलबाट सिमरा जान लाग्दा सिमानानजिक समातिएँ, मसँग चार ग्राम खैरो हेरोइन थियो, अहिले कैद भुक्तान गरिरहेको छु।’ दुई वर्ष मलेसियामा कमाएर ल्याएको पैसा अहिले यही मुद्दामा सकिएको उनले सुनाए। आमाले बिहे तय गरिदिन लागेका बेला उनी जेल परे। ‘आमा यहाँ भेट्न आउनुहुन्छ, धेरै दुःखी देख्छु उहाँलाई,’ आँखा रसिलो पार्दै ती युवकले भने।

वीरगन्ज–१५ घर भएका अर्का ३३ वर्षीय युवक लागूऔषध मुद्दामै काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भई यहाँ कैद भुक्तान गर्दै छन्। आफ्नो संलग्नता अस्वीकार गरेका उनको नागरिकता नम्बर प्रयोग भएर काठमाडौंबाट वीरगन्जमा लागूऔषधको रकम भुक्तानी भएको प्रहरीको अनुसन्धानले देखाएको छ। किशोर तथा युवा उमेरमा बढी आकर्षित गर्ने मनोदीपक (लठ्याउने) औषधिमा फस्नेहरू बढी देखिएको अनुसन्धानमा संलग्न प्रहरीहरू बताउँछन्। विभिन्न रोग उपचारका लागि प्रयोग हुने यस्ता औषधि डाक्टरको सल्लाहबिना युवाहरू आनन्दका लागि प्रयोग गर्ने गर्छन्। लागूपदार्थ नियन्त्रण एकाइमा लामो समय काम गरेका प्रहरी नायब निरीक्षक विजय शाही भन्छन्, ‘यसको लत लागेपछि निस्कन गाह्रो हुन्छ। पहिले लहैलहैमा लागेर यसको प्रयोग सुरु गर्छन् र पछि त्यही बानीले अझ गम्भीर किसिमका लागुपदार्थतिर लैजान्छ।’ फेनार्गन, नुर्फिन, डाइजेपामजस्ता इन्जेक्सन, नाइट्रोभेट, प्रोक्सिभ्यान, एभिलजस्ता ट्याबलेट र कोरेक्स, फेन्साडाइलजस्ता प्रतिबन्धित औषधिहरूमा प्रयोगकर्ताहरूको आकर्षण देखिन्छ। त्यस्तै गाँजा, चरेस, अफिम, खैरो तथा सेतो हेरोइनजस्ता लागूपदार्थ प्रयोग तथा ओसारपसारमा युवा फसेको पाइन्छ।

प्रयास अपुग
यसरी विभिन्न तरिकाले लागूपदार्थ तथा औषध ओसारपसारमा युवाको संलग्नता छ। यसको नियन्त्रणका लागि गरिएको अहिलेसम्मको प्रयास असफल देखिएको सरकोरावाला स्वीकार गर्छन्। प्रहरीले अपनाएको उपायलाई छल्न यसका कारोबारीले नयाँ तरिका खोजिसकेका हुन्छन्। वीरगन्ज लागूपदार्थ तथा औषध ओसारपसारको ‘ट्रान्जिट प्वइन्ट’का रूपमा प्रयोग भइरहेको देखिन्छ। यताबाट भारततर्फ गाँजा, चरेस र हेरोइनजस्ता लागूपदार्थ लाने र उताबाट प्रतिबन्धित इन्जेक्सन तथा ट्याब्लेटहरू ल्याउने गरिएका छन्। यो नियन्त्रणका लागि सीमापारिका प्रहरीसँग समन्वय गरी काम गर्ने गरिएको पर्साका प्रहरी उपरीक्षक रेवजपति ढकाल बताउँछन्।

‘लागूऔषधसम्बन्धी मुद्दामा ठूलो संख्यामा मानिस पक्राउ पर्ने गर्छन्, त्यसमा दुःखलाग्दो कुरा के छ भने वास्तविक कारोबारीचाहिँ नगण्य मात्र पर्ने गरेका छन्, उनीहरूले लगाएका भरियाहरू बढी समातिन्छन,’ प्रहरी उपरीक्षक ढकालले भने, ‘कारोबारमा विभिन्न तह रहेकाले एउटाले अर्कोलाई मात्र सम्पर्क गर्छ, यसले गर्दा माथिल्लो तहसम्म पुग्न समस्या हुन्छ।’ प्रयोगकर्ता पनि भरियाका रूपमा प्रयोग हुने गरेको उनी बताउँछन्।

‘लागूऔषध खानेले सुरुमा परिवारका सदस्यलाई विश्वास दिलाउन असल व्यवहार देखाउने गर्छन्। जब वास्तविकता खुल्छ ढिला भइसकेको हुन्छ,’ ढकालले भने, ‘त्यसकारण निकै सचेत हुन जरुरी छ।’ लागूऔषध न्यूनीकरणका अभियानकर्ता जय साह, परिवारले चाहना नबुझ्दा वा कुनै असफलता हुँदा युवा लागूऔषधतर्फ जाने गरेको बताउँछन्। कला वा खेलकुद क्षेत्रमा लागेका युवा असफलता हात पर्दा तथा साथी संगतका कारण किशोरकिशोरी लागूऔषधको लतमा फस्ने गरेको र पछि त्यसकै ओसारपसारमा सामेल हुने गरेको उनी बताउँछन्। ‘यसरी लागूऔषधको जालोमा पर्ने युवाको संख्या ठूलो छ,’ साहले भने, ‘त्यस्ता युवालाई सहभागी गराउने खालका कार्यक्रम सरकारले ल्याउनुपर्छ, पुनःस्थापना केन्द्र तथा गैरसरकारी संस्थाहरूले मात्र नभई गृह मन्त्रालयले नै अभियान चलाउनुपर्छ।’ ठूलो संख्यामा युवा लागूऔषधमा लागेको यस तथ्यलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने उनको सुझाव छ।

प्रकाशित: २० पुस २०७५ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App