समाज

एसएमजी सहित १ जना पक्राउ

सिरहा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका –४ मा प्रहरीले एसएमजी सहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने धनगढीमाइ नगरपालिका ११ का ४६ वर्षीय चतुरनारायण चौधरी रहेको सिरहा प्रहरी प्रमुख(एसपी) जीवनकुमार श्रेष्ठले बताए। 

चौधरीको साथबाट प्रहरीले १ थान एसएमजी (सर्ट मेसिन गन), म्याजीन २ थान, गोली ५ राउन्ड बरामद गरिएको छ। स१प ३७४१ नम्बर मोटरसाइकलमा पश्चिमतर्फ आउँदै गरेका चौधरीलाई राजमार्गको गोलबजारमा रोकेर जाँच गर्दा उक्त हतियार बरामद भएको थियो।

उनको साथबाट आर्थिक सहयोग लेखिएको स्वतन्त्र तराई निर्माण सेनाको पर्चा समेत बरामद भएको श्रेष्ठले बताए। पुष ८ गते गोलबजारमा स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेटिएको स्थानमा प्रेसर कुकर बम समेत बरामद भएको थियो। उनीमाथी हातहतियार तथा खरखजाना मुद्दामा कारवाही सुरु गरिएको एसपी श्रेष्ठले बताए।

प्रकाशित: १७ पुस २०७५ ०८:४० मंगलबार

अवैध_हतियार चतुरनारायण_चौधरी पक्राउ